कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ।
शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए।
राति सडकमा होहल्ला गर्दै हिँडिरहेका उनीहरूलाई प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा उल्टै चर्को स्वरमा होहाल्ला गरेर महिला प्रहरी कर्मचारीसमेतलाई अश्लिल तथा अपशब्द प्रयोग गरी गाली गलौज गरेको आरोप छ।
पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका- ६ की २६ वर्षीया अन्जना तामाङ, प्यूठानको प्यूठान नगरपालिका-३ ओखरबोटकी २० वर्षीया वर्षा सुनार, कपिलवस्तुको विजय नगरपालिका- ७ गणेशपुरका २२ वर्षीय मनोज गुप्ता, शिवराज- ६ का २७ वर्षीय दिपेन्द्र कुमार चौधरी र भारतीय नागरिक २८ वर्षीय रञ्जित चौधरी छन्।
यही वैशाख १९ गते राति पक्राउ परेका उनीहरूलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।