सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन,
रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ।
सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेका अनुसार देशका प्रमुख सीमा नाकामा परिचालन गरिएको बीआइटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको छ। टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म बीआइटीको आधिकारिक पोशाकमा खटिनेछ। प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारी पनि रहने व्यवस्था गरिएको छ।
जमुनाह नाकामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर चन्दको उपस्थितिमा बीआइटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।
बीआइटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनु, मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना सङ्कलन गर्नु रहेको छ। साथै प्रतिबन्धित लागूऔषध, अवैध सामान तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाई आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताए।
‘सीमा नाकामा बीआइटी टोलीको आवश्यकता महसुस भइरहेको थियो। टोली परिचालनसँगै सीमा क्षेत्रमा हुने गतिविधिमाथि निगरानी प्रभावकारी हुने र अन्तर्राष्ट्रिय नाकामा हुने अवैध गतिविधि नियन्त्रण गर्न थप सहज हुने विश्वास लिएका छौं,’ उनले भने।
प्रधान कार्यालयबाट प्रत्यक्ष परिचालन गरिएको बीआइटी टोली जमुनाहमा भने सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेको समन्वय र निर्देशनमा परिचालन हुनेछ। टोलीको परिचालनसँगै जमुनाह सीमा नाकाको सुरक्षा व्यवस्था थप प्रभावकारी हुने, अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने तथा सीमावर्ती क्षेत्रमा नागरिकमैत्री सुरक्षा सेवा अझ सुदृढ हुने अपेक्षा गरिएको छ।