बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा उद्योगी व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। यसैबीच व्यवसायीको हकहित, व्यवसाय प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिक एजेन्डा बनाउँदै सुरजबहादुर भण्डारी सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्।
भण्डारीले नेपालगन्जको आर्थिक विकासलाई गति दिन उद्योगी–व्यवसायीको समस्या समाधानसँगै नयाँ उद्यमीलाई प्रोत्साहन र लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न संघले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा अघि सारेका छन्।
उनको चुनावी अभियानमा व्यवसायी एकता, व्यवसाय प्रवर्द्धन, पारदर्शिता, सुशासन, सदस्यको हित र साझा नेतृत्वलाई प्रमुख प्राथमिकतामा राखिएको छ। व्यवसायीका समस्या सुन्ने मात्र नभई सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गरी समाधानका लागि पहल गर्ने भण्डारीको प्रतिबद्धता छ।
होटल व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी लामो समयदेखि व्यवसायिक क्षेत्रमा आबद्ध छन्। उनी होटल स्वस्तिक तथा स्वस्तिक कटेजका सञ्चालकसमेत हुन्। आफूले हासिल गरेको व्यवसायिक अनुभवलाई संघमार्फत समग्र व्यवसायीको हितमा प्रयोग गर्ने उनको भनाइ छ।
नयाँ पुस्ताका उद्यमीलाई प्राथमिकता
भण्डारीले नेपालगन्जलाई नयाँ पुस्ताले व्यवसाय र उद्यमका क्षेत्रमा भविष्य देख्न सक्ने शहर बनाउने विषयलाई आफ्नो अभियानको महत्वपूर्ण एजेन्डा बनाएका छन्।
“नेपालगन्जलाई नयाँ उद्यमीले सपना देख्न सक्नेक र त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्ने शहर बनाउन मेरो योगदान हुनेछ,” भण्डारीले भने।
उनका अनुसार युवालाई व्यवसाय सुरु गर्न आवश्यक वातावरण, अवसर र सहजीकरण उपलब्ध गराउन संघले सक्रिय भूमिका खेल्नुपर्छ। साथै, लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीको संरक्षण र उनीहरूका समस्या समाधानलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
‘पद भन्दा व्यवसायीको विश्वास महत्वपूर्ण’
निर्वाचनमा उम्मेदवारी दिनुको उद्देश्य पद प्राप्ति मात्र नभई व्यवसायीको आवाजलाई संस्थागत रूपमा बलियो बनाउनु रहेको भण्डारीले बताएका छन्।
उनले संघलाई अझ पारदर्शी, जवाफदेही, व्यवसायीमैत्री र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। व्यवसायीबीचको एकता र सहकार्यलाई बलियो बनाएर साझा हितका मुद्दामा संघलाई प्रभावकारी ढंगले अघि बढाउने उनको योजना छ।
आगामी भदौ ६ गते शनिबार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनले संघको आगामी नेतृत्व र कार्यदिशा तय गर्ने भएकाले यसपटकको निर्वाचनलाई व्यवसायी क्षेत्रले विशेष चासोका साथ हेरेको छ।
भण्डारीका लागि पनि यो निर्वाचन एउटा पदका लागि हुने प्रतिस्पर्धाभन्दा व्यवसायीको विश्वास जितेर उनीहरूको आवाजलाई संस्थागत रूपमा बलियो बनाउने अवसरका रूपमा देखिएको छ। अब उनका एजेन्डा र प्रतिबद्धतालाई व्यवसायीले कति विश्वास गर्छन् भन्ने कुरा निर्वाचनको परिणामले तय गर्नेछ।