दाङ । लामो समयदेखि देखिएको ग्यास अभावका कारण समस्यामा परेका दाङका उपभोक्तालाई राहत मिल्न थालेको छ। वितरण प्रणालीलाई व्यवस्थित बनाउन कुपन प्रणाली लागू गर्ने, उपभोक्ताको विवरण संकलन गर्ने तथा आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने प्रयासपछि जिल्लामा ग्यासको अवस्था क्रमशः सहज बन्दै गएको हो।
ग्यास अभावका बेला उपभोक्ता दुई–तीन दिनसम्म लाइनमा बस्नुपर्ने, पालो आउँदासम्म ग्यास सकिने तथा बिरामी, सुत्केरी, विद्यार्थी र वृद्धवृद्धा बढी प्रभावित हुने अवस्था थियो। ग्यास नपाइने त्रासका कारण बजारमा अनावश्यक भीडसमेत बढेको थियो।
यस अवस्थामा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले समस्या समाधानका लागि प्रशासन, प्रहरी, स्थानीय तह, ग्यास उद्योग, विक्रेता तथा उपभोक्ताबीच समन्वयलाई प्राथमिकता दिए। प्रियासनले नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा रहँदा पनि ग्यास अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए।
ग्यास अभाव बढ्दै गएपछि प्रियासनले जिल्ला प्रशासन कार्यालय दाङसँग छलफल गरी उपभोक्ताको समस्या समाधानका लागि व्यवस्थित वितरण प्रणाली आवश्यक रहेको बताए। त्यसपछि प्रहरी प्रशासनसँगको समन्वयमा विभिन्न ग्यास विक्रेताका गोदाम तथा वितरण केन्द्रको अनुगमनसमेत गरिएको थियो।
भदौ १ गते जिल्ला प्रशासन कार्यालय दाङमा सरोकारवालाबीच भएको छलफलपछि भदौ २ गतेदेखि ग्यास वितरणमा कुपन प्रणाली लागू गर्ने निर्णय गरिएको थियो। उपभोक्ताको नाम, ठेगाना र फोन नम्बर दर्ता गरी क्रमसंख्या तथा प्रमाणसहित कुपन उपलब्ध गराउने, विक्रेताले पारदर्शी अभिलेख राख्ने र पालोअनुसार ग्यास वितरण गर्ने व्यवस्था अघि बढाइएको थियो।
अभियानका संयोजक प्रियासनका अनुसार कुपन प्रणालीको उद्देश्य ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिनु र वास्तविक उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनु थियो। अभियानले विक्रेताहरूलाई पनि ग्यास आएको विवरण, वितरण गरिएको संख्या तथा बाँकी उपभोक्ताको अभिलेख पारदर्शी राख्न आग्रह गरेको थियो।
ग्यासको वितरण प्रणाली सुधारसँगै जिल्लामा आपूर्ति बढाउन आयल निगम तथा विभिन्न ग्यास उद्योगसँग समेत निरन्तर संवाद गरिएको अभियानले जनाएको छ। दाङमा आवश्यकताअनुसार थप ग्यास पठाउन आग्रह गर्दै उद्योग तथा विक्रेतासँग सहजीकरण गरिएको थियो।
अभावका समयमा प्रियासनको मोबाइलमा ग्यासका लागि दैनिक ठूलो संख्यामा फोन आउने गरेको थियो। बिरामी तथा सुत्केरी भएका घरदेखि विद्यार्थीको डेरासम्मबाट ग्यासको माग आएपछि अभियानले प्राथमिकताका आधारमा सम्बन्धित विक्रेतासँग समन्वय गर्दै आएको थियो।
अभियानमा गोविन्द खड्का, विनोद केसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायत सञ्चारकर्मी तथा अभियानकर्मीले समेत सक्रिय भूमिका निर्वाह गरेका थिए।
अहिले दाङका अधिकांश क्षेत्रमा ग्यास आपूर्ति र वितरण क्रमशः सहज बन्दै गएको जनाइएको छ। अभियानले असोजको पहिलो सातासम्म जिल्लालाई ग्यास अभावबाट पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउने लक्ष्य राखेको छ।
प्रियासनले यो अभियानलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि प्रशासन, प्रहरी, स्थानीय तह, ग्यास उद्योग, विक्रेता, सञ्चारकर्मी र आम उपभोक्ताको सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गरेका छन्। “समस्या देखेपछि त्यसबाट भाग्ने होइन, समाधान खोज्न सबै पक्ष एक ठाउँमा उभिनुपर्छ,” उनको भनाइ छ।