बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके पहिलो बनेको थियो भने जेठमा दोस्रो स्थानमा रहेको थियो।
शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान अघि बढाउने, फैसला कार्यान्वयन गर्ने, सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने र नागरिकमैत्री सेवा प्रवाह गर्ने विषयलाई कार्यसम्पादन मूल्याङ्कनका मुख्य आधार बनाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले यो उपलब्धि आफ्नो व्यक्तिगत नभई सम्पूर्ण प्रहरी टोलीको सामूहिक प्रयासको परिणाम भएको बताए।
उनले आगामी दिनमा बाँकेका नागरिकलाई अझ सुरक्षित अनुभूति गराउने र पीडितलाई छिटो न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखिने बताए। अपराध, लागूऔषध कारोबार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति निरन्तर कायम राख्ने उनको भनाइ छ।
पीडितलाई न्यायबाट वञ्चित हुन नदिने आफ्नो टोलीको पहिलो दायित्व रहेको बताउँदै जिसीले अपराधीमाथि कुनै पनि अवस्थामा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।