०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

विश्व शान्ति दिवसमा ब्रह्माकुमारीजको दीप प्रज्वलन शान्तिको सुरुवात व्यक्तिको मनबाट हुनुपर्छ : सविन प्रियासन

Logo
Abc Sanchar प्रकाशित सोमबार, आश्विन ०५, २०८३

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले विश्व शान्ति केवल युद्ध र द्वन्द्वको अन्त्यसँग मात्र सम्बन्धित विषय नभई मानिसको सोच, व्यवहार, सम्बन्ध र सामाजिक जिम्मेवारीसँग जोडिएको विषय भएको बताउनुभयो।
प्रमुख वक्ता प्रियासनले “शान्ति बाहिर खोजेर मात्र पाइँदैन, यसको सुरुवात आफ्नै मनबाट गर्नुपर्छ” भन्नुभयो। मानिसको मनमा शान्ति, विचारमा सकारात्मकता र व्यवहारमा मानवता विकास गर्न सके त्यसको प्रभाव परिवार हुँदै समाज र राष्ट्रसम्म पुग्ने उहाँको भनाइ थियो।
“हामी विश्व शान्तिको कुरा गर्छौं, तर शान्तिको पहिलो अभ्यास आफ्नै घर, परिवार र समाजबाट सुरु गर्नुपर्छ,” उहाँले भन्नुभयो, “कसैप्रति घृणा नगर्ने, कटु वचन नबोल्ने, दुःखमा परेकालाई सहयोग गर्ने, अरूको सम्मान गर्ने र आफूले सकेको सेवा गर्ने संस्कार विकास गर्न सके शान्तिको आधार बलियो हुन्छ।”
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रियासनले विपद्को पीडा भोगिरहेका परिवार र समुदायप्रति राज्य तथा समाज दुवै संवेदनशील हुनुपर्ने बताउनुभयो।
“भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्मा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना छ। विपद्मा परेका नागरिकलाई सहयोग गर्नु केवल दायित्व होइन, मानवीय धर्म पनि हो,” उहाँले भन्नुभयो।
उहाँले संकटको समयमा गरिने सहयोगले रकमभन्दा ठूलो मानवीय सन्देश दिने बताउँदै ब्रह्माकुमारीज नेपालले प्राकृतिक विपद्का पीडितका लागि गरेको आर्थिक सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
“विपद्को समयमा कसैले दिएको एउटा सहयोग, एउटा शब्द, एउटा हात र एउटा साथले पीडित मानिसमा ठूलो आशा जगाउन सक्छ,” प्रियासनले भन्नुभयो, “त्यसैले मानवीय सेवा नै शान्तिको व्यवहारिक रूप हो।”
कार्यक्रममा ब्रह्माकुमारीज नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको सहयोगबारे जानकारी गराइएको थियो। ब्रह्माकुमारीज पूर्वी नेपालबाट १ करोड १ लाख रुपैयाँ र पश्चिम नेपालबाट ४२ लाख ७५ हजार ३ सय ४२ रुपैयाँ गरी कुल १ करोड ४३ लाख ७५ हजार ३ सय ४२ रुपैयाँ संकलन तथा हस्तान्तरण गरिएको जानकारी दिइयो।
त्यसमध्ये ब्रह्माकुमारीज राप्तीक्षेत्रअन्तर्गत विभिन्न शाखा तथा उपशाखाबाट ४ लाख ४९ हजार ६ सय ४० रुपैयाँ संकलन गरिएको जनाइएको छ।
प्रियासनले ब्रह्माकुमारीजले राजयोग ध्यान, आत्मिक चेतना, मूल्य शिक्षा, अहिंसा, प्रेम, सहिष्णुता र विश्व बन्धुत्वका माध्यमबाट समाजमा शान्तिको संस्कार विकास गर्न गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताउनुभयो।
“दीप प्रज्वलन एउटा औपचारिक कार्यक्रम मात्र होइन। यो अन्धकारबाट उज्यालोतर्फ, निराशाबाट आशातर्फ र द्वन्द्वबाट शान्तितर्फ जाने हाम्रो सामूहिक संकल्प हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा ब्रह्माकुमारीज राप्तीक्षेत्रकी प्रमुख राजयोगिनी ब्रह्माकुमारी गीता दिदी, पूर्व जिल्ला न्यायाधीश लिलाराज अधिकारी, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी, ब्रह्माकुमारीज घोराही शाखा प्रमुख ब्रह्माकुमारी अन्जना, क्षेत्रीय सचिव राजयोगी ब्रह्माकुमार शिवलाल महतारा, प्रवक्ता राजयोगी ब्रह्माकुमार माधव तिमिल्सेना, ब्रह्माकुमारी डा. जीवनरश्मी हमाल, पत्रकार रमन शर्मा, मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र निर्माण समितिका अध्यक्ष एवं पूर्व कृषिविज्ञ पुप्पराज वेलवासे, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व प्रशासक शरद गौतमलगायतको सहभागिता थियो।
कार्यक्रममा प्राकृतिक विपद्मा दिवंगत आत्माको शान्ति तथा शोकसन्तप्त परिवारमा धैर्य र आत्मबल प्राप्तिको कामना गर्दै केही क्षण मौनधारण गरिएको थियो। सहभागीहरूले “म शान्त आत्मा हुँ, मेरो मनमा शान्ति जगाउनेछु, परिवारमा प्रेम र समाजमा सद्भाव फैलाउनेछु” भन्ने भावसहित सामूहिक शान्ति संकल्पसमेत गरेका थिए।
दीप प्रज्वलनलाई अज्ञानताको अन्धकार हटाउँदै ज्ञान, प्रेम, करुणा र आशाको उज्यालो फैलाउने प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा भोटेकोशी बाढी लगायत प्राकृतिक विपद्मा जीवन गुमाएका सम्पूर्णप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै विश्वभर प्रेम, सद्भाव, करुणा, अहिंसा र विश्व बन्धुत्वको भावना जागृत होस् भन्ने कामना गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।