*काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
यसअघि पनि प्रहरीले ललितपुरको सानेपाबाट ८ भन्दा बढी बेटिङ साइट प्रयोग गरी ३ अर्ब ४ करोड ७३ लाख बराबरको कारोबार गर्ने २४ जनाको समूहलाई पक्राउ गरेको थियो। उनीहरुले WhatsApp मार्फत एजेन्टसँग सम्पर्क गरी अनलाइन गेम खेलाउने गरेको पाइएको थियो।
त्यस्तै काठमाडौंको बुढानीलकण्ठबाट २ अर्ब ९६ लाखको अनलाइन जुवा र ९६ लाखभन्दा बढीको क्रिप्टो कारोबार गर्ने ११ जना भारतीय समेत पक्राउ परेका थिए।
पक्राउ परेका व्यक्तिको साथबाट मोबाइल, ल्यापटप, बैंकका चेकबुक, एटीएम कार्ड र सिमकार्ड बरामद गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) र विदेशी विनिमय ऐन तथा सम्पत्ति शुद्धीकरण कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।