बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा रहस्य खुलेको थियो ।
बाँकेमा सशस्त्र प्रहरी बल नेपाल नं. ३०
गण हेडक्वाटर बागेश्वरीका गणपति प्रहरी उपरीक्षक एसपी भिम चन्द बाँकेमा आएदेखि धमाधम तस्करीको समान पक्राउ र तस्करको जालो भत्किएको छ । सशस्त्र प्रहरी बल ३० गण बाँकेका गणपति एसपी चन्दका अनुसार सशस्त्र प्रहरीको विशेष टोलीले चेकजाँच गर्ने क्रममा समानहरु फेला परेको बताए ।
अटोमा लोड गरिएको कपडाको प्रज्ञापन पत्र हेर्दा अन्डर बिलिङ गरेर ल्याएको फेला परेको छ। कागजमा उल्लेख भएको परिमाण र अटोमा रहेको वास्तविक परिमाणमा ठूलो अन्तर छ।
नेपालगन्ज घरबारी टोल बस्ने सकिल नामका व्यक्तिले ४/५ जनाको नाममा यात्रु शाखाबाट छुट्टाछुट्टै प्रज्ञापन पत्र भन्सार कटाएर दुईटै अटोमा सामान लोड गरी विगत १ बर्षदेखि खुलेआम नेपालगञ्ज भित्र्याउने गरेको पाइएको छ।
बरामद गरिएको कपडा र सवारी साधनको अन्दाजी मूल्य करिब १२ लाख रुपैयाँ रहेको छ। दुवै अटोसहित सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको २ जना धरौटीमा भन्सारले छोरेको सशस्त्र प्रहरी बल बाँकेले जानकारी दिएको छ।
नियम अनुसार यात्रु शाखा भनेको सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउने सानो परिमाणको सामानको भन्सार गर्ने ठाउँ हो। व्यापारिक प्रयोजनको सामान मुख्य भन्सार ICP बाटै जाँचपास गर्नुपर्छ। तर यहाँ लाखौंको सामान यात्रु शाखा कर्मचारीबाटै विभिन्न नाममा प्रज्ञापन पत्र बनाएर कसको सेटिङमा भइरहेको हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ।
स्रोतका अनुसार यो घरबारी टोलका सकिल र भन्सार यात्रु शाखाका कर्मचारीको मिलेमतोमा लामो समयदेखि हुँदै आएको छ। स्थानीयले यात्रु शाखा कर्मचारीको दुरुपयोग रोक्न निष्पक्ष छानबिन हुनुपर्ने नेपालगन्जका ब्यापारीहरुले बालेन सरकार प्रधानमन्त्री कार्यालय गृहमन्त्री कार्यालय हलो सरकारलाई जोरदार माग गरेका छन् ।