१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

गुरुकुल एकेडेमी पत्रकार सविन प्रियासनसँग विद्यार्थीको अन्तरक्रिया : सञ्चार, पत्रकारिता र सामाजिक सञ्जालबारे जिज्ञासा,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक १३, २०८३

 

दाङ । घोराही पत्रकारिता कसरी सुरु गर्ने, समाचार कसरी तयार हुन्छ र सामाजिक सञ्जालमा फैलिने सूचनाको सत्यता कसरी पहिचान गर्ने? यस्तै जिज्ञासा र प्रश्नहरूबीच गुरुकुल एकेडेमी घोराही–१५, रतनपुरमा पत्रकारसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीलाई पत्रकारिता, सञ्चारमाध्यमको भूमिका, समाचार लेखन प्रक्रिया, पत्रकारिताका अवसर तथा चुनौती र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा पत्रकार सविन प्रियासनले प्लस टुमा अध्ययनरत विद्यार्थीसँग पत्रकारिता र सञ्चार क्षेत्रका विविध पक्षमा अन्तरक्रिया गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न आवश्यक योग्यता, पत्रकार बन्न चाहनेले विकास गर्नुपर्ने सीप, समाचार संकलन तथा लेखन प्रक्रिया, समाचारको विश्वसनीयता, पत्रकारितामा सत्यतथ्यको महत्त्व र सामाजिक सञ्जालको प्रभावबारे जिज्ञासा राखेका थिए। विद्यार्थीहरूले समसामयिक विषयमा सञ्चारमाध्यमको भूमिका तथा पत्रकारले समाजप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे पनि प्रश्न गरेका थिए।

विद्यार्थीका प्रश्नहरूको जवाफ दिँदै पत्रकार प्रियासनले पत्रकारिता समाचार लेख्ने वा सूचना प्रसारण गर्ने काममा मात्र सीमित नभई समाजका समस्या, नागरिकका आवाज र सार्वजनिक सरोकारका विषयलाई जिम्मेवार ढंगले उजागर गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले पत्रकारिताले नागरिकलाई सुसूचित गराउनुका साथै समाजमा रहेका समस्या पहिचान गर्न, सम्बन्धित निकायलाई जवाफदेही बनाउन र सकारात्मक परिवर्तनका लागि वातावरण निर्माण गर्न भूमिका खेल्ने उल्लेख गर्नुभयो।

पत्रकारिता क्षेत्रमा रुचि राख्ने विद्यार्थीले अहिलेबाटै अध्ययन, लेखन, पठन, अवलोकन र सूचना संकलनको अभ्यास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। कुनै पनि विषयमा प्रश्न गर्न सक्ने क्षमता, स्पष्ट अभिव्यक्ति, भाषिक दक्षता, विषयवस्तुको गहिरो अध्ययन र तथ्य पहिचान गर्ने सीप पत्रकारिताका लागि महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।

पछिल्लो समय सामाजिक सञ्जाल सूचना आदानप्रदानको सहज माध्यम बने पनि गलत, भ्रामक र अपुष्ट सूचना फैलिने चुनौती बढ्दै गएको विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो। सामाजिक सञ्जालमा देखिएका सबै सामग्रीलाई सत्य मानेर विश्वास गर्न नहुने उल्लेख गर्दै प्रियासनले कुनै पनि सूचना सार्वजनिक गर्नुअघि त्यसको स्रोत, सत्यता र विश्वसनीयता जाँच गर्नुपर्ने सन्देश दिनुभयो। जिम्मेवार डिजिटल नागरिक बन्न विद्यार्थीले पनि सूचना ग्रहण र प्रसारण गर्दा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो।

पत्रकारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा विद्यार्थीहरूले पाठ्यपुस्तकमा पढेका विषयलाई व्यवहारसँग जोडेर बुझ्ने अवसर पाएका थिए। प्रश्नोत्तरमा विद्यार्थीको सक्रिय सहभागिताले कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीमा सञ्चार सीप, आलोचनात्मक सोच, तथ्य जाँच गर्ने बानी र समसामयिक विषयप्रतिको चासो विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता गुरुकुल एकेडेमीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले गर्नुभएको थियो भने सञ्चालन विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले गर्नुभएको थियो।

विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकीय ज्ञानमा मात्र सीमित नराखी समाज, सञ्चार, पत्रकारिता र समसामयिक घटनाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ कात्तिक ११ गते बिहान ११:३० बजे महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा रहेको सामान फेला परेको हो। प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको ५ जनाको टोलीले उक्त सामान बरामद गरी इलाका प्रहरी कार्यालयमा ल्याएको छ। प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको […]

  दाङ । घोराही पत्रकारिता कसरी सुरु गर्ने, समाचार कसरी तयार हुन्छ र सामाजिक सञ्जालमा फैलिने सूचनाको सत्यता कसरी पहिचान गर्ने? यस्तै जिज्ञासा र प्रश्नहरूबीच गुरुकुल एकेडेमी घोराही–१५, रतनपुरमा पत्रकारसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीलाई पत्रकारिता, सञ्चारमाध्यमको भूमिका, समाचार लेखन प्रक्रिया, पत्रकारिताका अवसर तथा चुनौती र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे व्यावहारिक ज्ञान प्रदान […]

  पठन संस्कृतिको विकास र पुस्तकालय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै कृति उपलब्ध शान्तिनगर । साहित्यकार तथा पत्रकार सबिन प्रियासनले शान्तिनगर सामुदायिक पुस्तकालयका लागि आफूले लेखेका नौ थान पुस्तक सहयोग गर्नुभएको छ। समाजमा पठन संस्कृतिको विकास गर्ने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने र पुस्तकालयमार्फत ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको पुस्तकालयलाई प्रियासनले आफ्ना कृति […]