नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ ।
प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले बताएका छन् ।
नयाँ व्यवस्थाअनुसार तोकिएको उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई राजधानी प्रवेशमा रोक लगाइनेछ । त्यसैगरी, धुलो उड्ने गरी गरिने भत्काउने कार्य तथा खुला क्षेत्रमा हुने निर्माण गतिविधिमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ ।