२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

आलुको मूल्य बढेपछि किसानहरु खुशी बनेपा पाँचखाल

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गर्नुभएको छ । गत वर्ष त्यही अनुपातमा खेती गरेको उहाँले यस वर्ष राम्रो आम्दानी पाएको बताउनुभयो । पहिलो पटक खनेर बिक्री गरिसकेका उहाँले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताउनुभयो । आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य पाएको अधिकारीको भनाइ छ । “केही वर्षयताको मूल्यमा यस वर्ष राम्रो भाउ पाएका छौँ”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष आलुखेती गर्ने किसानले राम्रो मूल्य पाएको छ ।” गत वर्ष किलोको रु २० देखि रु २२ सम्म मात्रै पाएको उहाँले बताउनुभयो । पच्चीस रोपनीमा आलुुखेती गर्नुभएका उहाँले अझै चार÷पाँच पटक खन्न बाँकी नै रहेको जानकारी दिनुभयो । सोही वडास्थित लाम्डीका अर्का किसान यादव अधिकारीले यस वर्ष आलुको राम्रो मूल्य पाइएको बताउनुभयो । “खेती गरेअनुसार यस वर्ष किसानले राम्रो भाउ लिइरहेका छन्”, उहाँले भन्नुभयो, “मैले यसपाली अलि ढिला लगाएकाले बेच्न बाँकी नै छ, त्यस बेलासम्ममा राम्रो मूल्य पाउँछु होला ।” उहाँले यस वर्ष २० रोपनीमा आलुखेती गर्नुभएको छ । गत वर्षको भन्दा यस वर्ष राम्रो मूल्य पाइरहेकाले आलुखेतीप्रति किसान उत्साहित भएका उहाँको भनाइ छ । वडा नं ६ तीनपिप्लेका किसान बद्री ढुङ्गानाले यस वर्ष आलुको राम्रो मूल्य पाएकाले पाँचखालका किसान उत्साहित भएका बताउनुभयो । आलुको राम्रो मूल्य पाएपछि अहिले पाँचखालका किसान खुशी भएका छन् । नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख ईश्वर अधिकारीले नगरपालिकामा यस वर्ष २६ हजार ५०० हेक्टरमा आलुखेती लगाइएको बताउनुभयो । गत वर्षको भन्दा यस वर्ष किसानले प्रतिकिलो रु १० भन्दा बढी मूल्य पाएको उहाँको भनाइ छ । गत वर्ष किसानले प्रतिकेजी रु २० देखि रु २२ सम्ममा बिक्री गरेका थिए । काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलुमा बढीमात्रामा विषादी प्रयोग गरेको भन्ने आरोप खेप्दै आएकामा कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय हरिहरभवनअन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट गरिएको परीक्षणअनुसार सो आलुमा कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट प्रतिशत ११ भन्दा कम भएको पाइएको उहाँले बताउनुभयो । विज्ञका अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट ३५ प्रतिशतभन्दा कम भएको आलु खानाका लागि योग्य भएको मानिन्छ । त्यसरी खेती गर्दै आएका किसानलाई सहयोगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइसुपरजोन (आलु)ले विभिन्न प्रक्रियाबाट सहयोग गर्दै आइरहेको छ । किसानको सहजताका लागि गुणस्तरीय बीउ र खेतीमा सहजताका लागि औजारसमेत कम मूल्यमा पाउने गरी कस्टम हायरिङ सेन्टरसमेत स्थापना गरेर सहयोग गरेपछि किसानमा आलुखेती गर्न थप हौसला मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु) काभ्रेपलाञ्चोकका सञ्चालक समिति अध्यक्ष हरि खतिवडाले बताउनुभयो । “त्यससँगै आलु सुपरजोन कार्यक्रम लागू भएपछि विषादी न्यूनीकरणका लागि किसानलाई विभिन्न प्रकारका सचेतनाका कार्यक्रम गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो । त्यससँगै किसानलाई माटो सुधार, खेतीको तरिका र आलुको जात छनोटलगायत गोठ सुधारको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।