०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

पहिरोले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

एबिसी संचार
चितवन मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ।
बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन ।
राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक बन्न पुगेको देखिन्छ । छिटो जाने हतारोमा उनीहरुले लापरवाही गरिरहेका अन्य चालकहरु नै आरोप लगाउँछन् । चालकले दोहोरो लाइन पछि पनि ओभरटेक गर्दा गाडी पास हुन सकेको छैन । अन्य क्षेत्रमा सडक चौडा पारिएकाले तेहोरो लाइनमा पनि सवारी गन्तव्यमा गएका देखिए पनि यहाँको कालीखोला पुल, जलविरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्छ ।
ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको एक जना चालक कृष्ण परियारले बताउनुभयो । । जसका कारण यहाँ दुई दिनदेखि अड्किएर बसेका यात्रु ठूलो मारमा छन् । आज अपराह्न रासस संवाददाताले स्थलगत अवलोकन गर्दा कतिपय ट्रकका चालक सिट मै निदाएका भेटिए । कतिपय गाडी छाडेर गएकाले पनि गाडी जाम बढिरहेको छ । सवारीको बाक्लो चाप भए पनि त्यसको व्यवस्थापनमा भने प्रहरीको उपस्थिति न्यून छ ।
प्रहरीको उपस्थिति कमजोर हुँदा चालकको लापरवाही बढेको पाइन्थ्यो । ठुलो जामको मारमा यात्रुहरु छन् । फाट्टफुट्ट एक दुई जना प्रहरीले १५ किलोमिटर भन्दा बढी लामो जाम व्यवस्थापन गर्नु परिरहेको दृश्य आज देखिएको थियो । जाम मुग्लिनदेखि घुमाउने भन्दा यतासम्मै छ ।
सार्वजनिक सवारी नहुँदा समेत जाममा ट्रक र निजी गाडी फसेका छन् । बुधबार विहान ९ बजे मानवसेवा आश्रमको एक टोली लमजुङबाट हिँडेको थियो । तर आज अपराह्न टोली चार किलो मै अड्किएको थियो । बाटोमा भेटिएका उनीहरु पसिनाले निथ्रुक्क भिजेको अवस्थामा थिए । सिमसिम पानी अनि चर्को घाम, घाम ओइलाउँदा हप्प गर्मीले यात्रुहरु आलसतालस देखिएका थिए । खलखली पसिना बगाएर बाटो खुल्ने प्रतीक्षामा थिए उनीहरु । आश्रमका प्रदेश संयोजक सुशिला केसीको नेतृत्वमा रहेको टोली मात्रै होइन धेरै गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् ।
निजी सवारी र ट्रक मात्रै भएकाले यात्रुको चाप कम देखिए पनि १५ किलोमिटर बढी लामो जाममा फसेका यात्रुहरु यहाँ हजारौँ छन् । बीच बाटोमा लकडाउनका कारण दोकानसमेत राम्ररी सञ्चालन भएको छैन । गाडीको जामका कारण फर्कनेसक्ने अवस्थासमेत नरहेको एक जना चालकले गुनासो गर्नुभयो । केसीले भन्नुभयो, “हिजो विहानदेखि आएको अलपत्र परियो, गाडीहरु ओभरटेक गरेर उछिन्ने काम मात्रै भएको छ, त्यसैले जाम खुल्न समस्या भइरहेको छ ।” मुख्यगरी चार किलो र जलविरे क्षेत्रमा पहिरोका कारण सवारी एकतर्फी छ । सोही कारण अहिले मुग्लिनदेखि घुमाउनेसम्म दोहोरो गाडीको जाम छ । मुलिनबाट काठमाडौँतर्फ पनि दुई किलोमिटसम्म जाम रहेको छ । यता नारायणगढतर्फ घुमाउनेसम्म गाडी जाम भएपछि प्रहरीले दासढुङ्गामा नै गाडी रोकेर व्यवस्थापन शुरु गरेको छ । दासढुङ्गामा समेत गाडीको लामो लाइन भइसकेको थियो ।
नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । केही वर्षअघि यहाँ सडक चौडा पार्ने काम भएको थियो त्यो बेला यहाँको भित्तो काटिएपछि अचाक्ली पहिरो खस्न थालेको थियो । जसका कारण यहाँ प्रहरीको गाडी नै बगाएको थियो भने अन्य सवारीसमेत पहिरो खसेर पुरेको थियो । पहिरो कै कारण प्रहरीसहित दर्जनौँको ज्यान गइसकेको छ ।
पहिरो रोक्न नारायणगढ मुग्लिन सडक आयोजनाले यहाँ रक नेटिङ्गको नयाँ अवधारणा शुरु गरेको थियो । धेरै स्थानमा यसले काम गरेको पनि छ । तर अहिले चारकिलोको पहिरोले भने रक नेटिङ्गलाई नै बगाएर गएको छ । गएको हिउँदमा यहाँ उक्त प्रविधि प्रयोग गरिएको थियो । तर त्यसले काम गरेको छैन । भित्रैबाट पहाड नै खसेपछि उक्त प्रविधिले काम नगर्ने विज्ञको भनाइ छ ।
पहिरो बुधबार बिहान चार किलोमा ४ः१५ बजे खसेको थियो । साँझ ७ बजे एकतर्फी खुल्यो केही मिनेटमा फेरि बेलुका ७ बजे चार किलोमा पनि खस्यो । त्यसलाई राति १० बजे पन्छाएर सडक एकतर्फीँ नियमित गरिएको थियो । विहान ९ बजे पुनः रोकेर पहिरो पन्छाउने प्रयास भएको थियो । तर दिउँसो पुन एकतर्फी खुलाइएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा झण्डै ४५ मिटर लामो पहिरो छ । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो । अहिले पनि पहिरो पन्छाउन मजदुर खटिएका छन् । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा यात्रु थप मारमा परेका हुन् ।
चितवनबाट गएका अधिकांश ट्रक काठमाडौँ उपत्यकाका लागि खाद्यान्नलगायत मालसामानका साथमा छन् । काठमाडौँबाट आएका सवारी मालसामान लिन जाने क्रममा थिए । बीचमा अड्किएकाले थप समस्या देखिएको छ । यसमा प्रहरीको सहभागिता बढाएर बाटो सञ्चालन गर्न नसके यो जाम अझै लम्बिने चालकहरु बताउँछन् । चितवनका प्रहरी उपरीक्षक शान्तिराज गुरुङ जाम बढेकाले अहिले केही समय गाडी रोकेर दोहोरो गाडी खुलाउने प्रयास थालिएको बताउनुभयो । त्यसले जाम थप बढ्ने निश्चित छ । इञ्जिनियर खनालले साँझसम्ममा दुईतर्फी खुलाउने प्रयास जारी रहेको बताउनुभयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । न्यूयोर्क संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय ९ओसीएचए० ले सार्वजनिक गरेको प्रतिवेदनमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता […]

  काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्। फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो। यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका […]

error: Content is protected !!