ABC Sanchar
विराटनगर । मोरङ जिल्ला अदालत परिसरबाट २ जना थुनुवा फरार भएका छन् । लागू औषधसहित पक्राउ परेका २ जना थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएकामा म्याद थप भइसकेपछि अदालत परिसरबाटै फरार भएका हुन् ।
अदालत परिसरबाटै फरार हुनेमा मोरङको कटहरी गाउँपालिका वडा नम्बर ४ घर भएका मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ घर भएका २० वर्षीय प्रकाश चौधरी छन् ।
प्रहरीले दुवै जनालाई लागू औषधसहित पक्राउ गरेको थियो । लागू औषध मुद्दामा अदालतबाट ५ दिनको म्याद थप भएपछि हतकडी सहित उनीहरु भागेका प्रहरीले बताएको छ ।
म्याद थपपछि प्रहरीले खाजा खाने भनेपछि हातको एउटा हतकडी खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो ३:३० बजेतिर उनीहरु फरार भएका हुन् ।
खोजी गर्दा फेला नपरेपछि म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएको थियो ।
आरोपीहरु भारततर्फ भागेको हुनसक्ने प्रहरीको आशंका छ । फरार भएका थुनुवाको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ गरेको थियो । यस्तै, चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका थिए ।
दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।
अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिए ।