२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

निकुञ्जले बाघको संरक्षण गर्दा मान्छेको ज्यान गयो सर्वत्र चासो स्थानीयहरु आक्रोशित

Logo
प्रकाशित सोमबार, चैत्र ०९, २०७७

(सागर थापा)
बर्दिया । मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो। बाघले आक्रमण गरेर ६ महिनाभित्र नौजना ज्यान गएको छ। बाटो हिँड्दा, घाँस काट्दा र घरबाहिर निस्केका बेला बाघले झम्टिँदा वन डिभिजनको कार्यक्षेत्रमा पर्ने भग्रैया र धनौरा गाउँका स्थानीयको ज्यान गएको हो।

सुरुमा खेल्दै गरेका धनौराका दुई बालबालिका बाघले लगेको थियो। त्यसपछि त्यहाँका ६ जना र बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका थप तीन जना गरी नौजनालाई बाघले खाइसकेको रेकर्डले पुष्टि गर्छ। बाघको गाँस बनेका सर्वसाधारणलाई यतिबेला बाघ संरक्षणका नामले निम्त्याएको दुःखान्त भनेर दुःखी छन्। जनताको छोरा वा छोरी बाघले खाँदा संरक्षणको नाम जप्ने संघ, संस्था, सरकारी निकायको बेवास्ताका कारण दुःखदायी स्थिति आएको सामुदायिक वन महासंघका केन्द्रीय सदस्य मोहम्मद कर खाँले बताए। ६ जनाको ज्यान लिने बाघको तस्बिर वन डिभिजनले क्यामरामा कैद गर्न नसक्नु दुःखद भएको प्रतिक्रिया उनले दिए।

बजेट अभाव भएकाले बाघ नियन्त्रण गर्न नसकिने वन अधिकृत महेन्द्रराज वाग्लेले दिएको सार्वजनिक अभिव्यक्तिप्रति स्थानीय रुष्ट छन्। बाघ नियन्त्रण नगरे आन्दोलन घोषणा गर्ने खाँले बताए। ‘दिनहुँ मानिसको ज्यान गइरहेको छ, राज्य मूकदर्शक बनिरहेको छ,’ उनले भने।

शुक्रबारदेखि बाघको बासस्थाननजिक नजान र सजग रहन जिल्ला प्रहरी कार्यलय माइकिङ सुरु गरेको छ। त्यसबाहेक सर्वसाधारणलाई बचाउन सरोकारवाला निकायले केही गतिविधि गरेको देखिँदैन। बाघको आक्रमणमा परेर दुःखी बनेको परिवार यतिबेला विक्षिप्त छन्। वन अधिकृत वाग्ले बाघ आक्रमणको विषयमा गम्भीर नदेखिएको स्थानीयको आरोप छ।

बाघको आक्रमणबाट सिंगो जिल्ला त्रास भइरहेको अवस्थामा जिल्लावासीको एउटा माग पनि सम्बोधन हुन सकेको गुनासो छ। बाघ आक्रमण पर्ने त्रासले खाता जैविक मार्गमा धराप जस्तो ब्रेकर हटाउन माग गर्दा समेत नहटाउनु सर्वसाधारण ज्यान जोखिममा परिरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए। बुधबार मधुवन–३ की २८ वर्षीय रेनुका सुनार घरदेखि ३ सय मिटरअघि बाटामा हिँड्दा गर्दा बाघले झम्टेर लगेपछि बाघको आक्रमणबाट ज्यान जानेको संख्या पाँच पुगेको हो। यसअघि बाघको आक्रमणबाट भग्रैयाका सुकरा र रन्या थारूले जेठो छोरा रमेश गुमाएका थिए। पूजाले आफ्नै अगाडि पति रमेश गुमाइन्। भग्रैया गाउँका उनको पतिलाई उनकै अगाडिबाट बाघले लगेको थियो।

‘मेरै अगाडिबाट हेर्दाहेर्दै लग्यो,’ उनले भनिन्, ‘सुरुमा हामीले झाडी हल्लिएको मात्र देख्यौं।’ उनले आफ्ना पति बचाउन सकिनन्। त्यतिबेला दसैंको रमझम थियो। रमेशका भिनाजु दिनेशलाई खोज्दै हिँडेका बेला लहरमा पछाडिबाट बाघ झम्टेर लगेको थियो। फोन गर्दा फोन नउठेपछि नेपाल र भारतको सुरक्षाकर्मीले दिनेशलाई खोजी गर्दा रमेशलाई बाघले लगेको हो। भिनाजुलाई खोजी रमेश गएका थिए। रमेशलाई आक्रमण गरेको बाघ खोज्दा दिनेशको कंगाल मात्र भेटियो। सुरक्षाकर्मीले पटाका पड्काएर बाघ भागेपछि रमेश र दिनेश दुवैको शव फेला पर्‍यो। एकै चितामा उनीहरूको दाहसंस्कार गाउँलेले गरेका थिए। दिनेशको परिवारले माइलो छोरा गुमायो भने रमेशको परिवारले जेठो छोरो गुमायो। विपन्न परिवारका दिनेश र रमेशका परिवारको दैनिक चलाउन सक्ने अवस्थामा छैनन्। दिनेशलाई मारेकै ठाउँमा रमेशलाई बाघले तानेको थियो।

यस्तै कात्तिक ५ गते बाघ आक्रमणमा परी सोही गाउँकी २८ वर्षीया गंगा बुढाको ज्यान गएको थियो। उनी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। असोजमा पनि माछा मार्न गएका एक किशोरको बाघको आक्रमणमा परी ज्यान गएको थियो। असोजदेखि अहिलेसम्म त्यस क्षेत्रमा बाघको आक्रमणबाट पाँचजनाको ज्यान गइसकेको छ। पछिल्लो समय बाघले त्यस क्षेत्रको जंगल आसपासका बस्तीहरूमा आतंक मच्चाएपछि स्थानीय त्रसित छन्।

मध्यवर्ती क्षेत्रमा आक्रमण गर्ने एउटा बाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। एक साताअघि मध्यवर्ती क्षेत्रमा भैंसी चराउँदै गरेका ६० वर्षीय लालबहादुर थारूलाई र करिडोर क्षेत्रमा बाघले झम्टेर लगेको स्थानमा क्यामरा जडान गरिएको उनले जानकारी दिए। ‘आक्रमणस्थल वरिपरि क्यामरामा धेरै बाघ कैद भएका छन्, कुन बाघले आक्रमण गरेको खुट्याउन गाह्रो परिरहेको छ,’ श्रेष्ठले भने।

उनका अनुसार मंसिरमा निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गबाट मोटरसाइकलमा सवार लम्की नगरपालिकाकी महिलालाई झम्टेर लैजाने बाघको पहिचान पनि हुन सकेको छैन। जैविक मार्ग र निकुञ्जभित्रका बाघले बानीव्यहोरा परिवर्तन गरेकाले समस्या उत्पन्न भइरहेको निकुञ्जका कर्मचारी बताउँछन्। मंगलबारदेखि निकुञ्ज विभागले खटाएको राष्ट्रिय प्राकृतिक संरक्षण कोषका डा. नरेश सुवेदी र बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. रविन कडरियाको नेतृत्वमा प्राविधिक टोलीले क्यामरामार्फत निगरानी गरेर बाघ नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए। स्रोत निर्मल घिमिरेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]