(रवि वर्णवाल)
बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामै गत आर्थिक वर्षको तुलनामा तीन गुणा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्ममा भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा ३१ करोड ९५ लाख ८६ हजार रुपैयाँ संकलन गरेको हो ।
गत आर्थिक वर्षमा कार्यालयले उक्त शीर्षकअन्तर्गत ८ करोड ३८ लाख ७३ हजार रुपैयाँ संकलन गरेको थियो । कार्यालयले सबैभन्दा बढी कात्तिकमा १९ करोड ५८ लाख १६ हजार रुपैयाँ उठाएको थियो । सबैभन्दा कम मंसिरमा ६१ लाख ३८ हजार रुपैयाँ संकलन भएको थियो ।
कार्यालयका अनुसार मरिच, मटर, सवारीसाधन, विद्युतीय सामान, पार्टपुर्जा, लत्ताकपडा, किराना तथा खाद्यान्न र अन्य वस्तुको भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा उक्त राजस्व संकलन भएको हो ।
यस अवधिमा अन्य शीर्षकमा २० करोड ३ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै, लत्ताकपडाबाट ९ करोड ९१ लाख र किराना तथा खाद्यान्नबाट ९ करोड ८३ लाख रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांक छ ।
गत वर्ष भने मरिच र सवारीसाधन शीर्षकतर्फ उक्त कार्यालयले बढी राजस्व उठाएको थियो । गत वर्ष मरिच चोरी निकासीतर्फ ३ करोड ३७ लाख र सवारीसाधनतर्फ ५ करोड ४० लाख रुपैयाँ उठेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले राजस्व संकलन बढ्नुमा सीमा नाकामा गरिएको कडाइ नै प्रमुख कारण भएको बताए । ‘सीमामा सशस्त्र प्रहरी तथा प्रहरीका युनिटहरु खटिएका छन्, जसमार्फत चोरी निकासीका सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाउने गरिएको छ,’ उनले भने, ‘जसका कारण राजस्व संकलन पनि बढिरहेको छ ।
निषेधाज्ञाका कारण पछिल्लो समय चोरी निकासीको घटनामा कमी आएको उनको भनाइ छ । ‘खुला सीमा भएका कारण यहाँबाट बढी मात्रामा लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री तस्करी भएको देखिन्छ । पछिल्लो समय निषेधाज्ञाका कारण केही कमी आएको छ । तर, पनि यस्तो मौका छोपेर तस्करी गर्नेहरुलाई नियन्त्रणमा लिने, कारबाही गर्ने काममा प्रहरी निरन्तर खटिएको छ,’ उनले भने । फर्दाफासबाट