(ABC-Sanchar)
काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउदै सामाजिक संजालमा उग्र अभिव्यक्ति दिने ज्वाला संग्रौला पक्राउ परेकी छन् । उनलाई प्रहरीले एक महिलामाथि हातपात गरेको अभियोगमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीसँगै अर्का दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ परेका अन्य दुई महिलाहरुमा शर्मिला वाइबा र हिमाल उपाध्याय रहका छन् ।
उनीहरुबिरुद्ध खुश्बु घिमिरेले आफूलाई कुटपीट गरेको भन्दै किटानी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आफूलाई अभियान्ता बताउनु संङ्ग्रौलाले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पनि प्रहरी कार्यलय मै गएर अभद्र व्यवहार गरेको आरोप छ । उनले प्रहरीमाथि गालीगलौज गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको थियो ।
उनले प्रहरीको बर्दी खोलिदिने धम्की दिएकी थिइन् । उनीसँगै प्रहरी कार्यलय पुगेका टोलीले सहायक निरीक्षक (असई) मणिकान्त झालाई सरुवा गरेर मधेशमा पुर्याइदिने र त्यही खेति गर्न लगाउने भन्दै धम्की दिएका थिए । रासस