ABC (क्राईमबिट)
कपिलवस्तु । प्रहरीले बुधबार फरार अभियुक्त पक्राउ अभियानमा जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ७४ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ ।
कपिलवस्तुमा विभिन्न मितीमा लागुऔषध, जवरजस्ति करणि, नकवजनि चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका ७४ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो ।
कपिलवस्तुको प्रहरी प्रमुखको रुपमा आएदेखि फरार अभियुक्त पक्राउ अभियानलाई प्राथमिकता दिई कार्यतिब्रता दिने क्रममा नै एकैदिनमा ७४ जना फरार पक्राउमा सफलता हासिल हुन सकेको कपिलवस्तुका प्रहरी प्रमुख एस पी दान बहादुर कार्किले जानकारी दिए। कपिलवस्तुका प्रहरीलाई विभिन्न कार्यक्रममार्फत सकृय बनाउने क्रममा नै प्रहरीले फरार पक्राउमा सकृयता देखाएको एसपी कार्कीले बताए ।
बुधबार पक्राउ गरिएकोमा २०६७ मंसिर ७ मा जबर्जस्ति करणी मुद्दामा ५ वर्ष कैद फैसला भई ११ वर्षदेखि फरार रहेका कोपुवा–५ खोटिकाका गोविन्द बहादुर मगर रहेका छन्।
त्यस्तै नकवजनी चोरी मुद्दाका २०६६ जेट २ मा ११ महिना १७ दिन गरि १,९३,४५७ रूपैया जरिवाना तोकिएका २ जना प्रतिवादी पनि पक्राउ गरिएको छ ।
बुधबार पक्राउ गरिएका प्रतिवादिहरुमा जवरजस्ति करणी(२ जना, नकवजनी चोरी–२ जना, सवारी ज्यान–६ जना, लागू औषध–४ जना, भवितव्य ज्यान–१ जना, जालसाजि–१६ जना, कुटपिट–२६ जना, सार्वजनिक अपराध–१० जना, गालि बेइज्जती–४ जना, अंस र बण्डा मुद्दा– २ जना, बन पैदवार मुद्दा –१ जना गरि जम्मा ७४ जना फरार प्रतिवादीहरु पक्राउ गरि आवश्यक सजाय भुक्तानका लागि सम्मानित कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराईएको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
बुधवार मात्रै ७४ जना फरार प्रतिवादी पक्राउ गरिएकोमा सो बापत जम्मा ९ वर्ष ६ महिना ३९ दिन कैद भुक्तान र २ लाख ५९ हजार ३ सय त्रिचालीस रुपैयाँ जरिवाना रकम असुलउपर गरि दाखिला गरिएको छ साथै गत मङ्गलबार पनि ८१ जना फरार अपराधिहरु पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।