ABC (क्राईमबिट)
धनगढी । उपमहानगरपालिका ३ मिलनचौकस्थित एएफसी होटलको जुवा प्रकरणमा मुछिएका पाँच जना प्रहरी निलिम्वत भएका छन्।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका आधारमा पाँच जना प्रहरी निलम्बित भएका हुन्।
प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैना चन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेम सिंह धामीलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्ण प्रसाद जैसी र राम सिंह कुँवर प्रदेश प्रहरी कार्यालयको सिफारिसमा निलम्बनमा परेका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दले जुवा प्रकरणमा जोडिएका पाँच जना प्रहरीलाई निलम्बन गरेर अनुसन्धान प्रकृया अघि बढाईएको जानकारी दिए। अहिले उनीहरुलाई निलम्बन मात्र गरिएको हो, अनुसन्धानका क्रममा उनीहरुको कसुर देखिए सोही अनुसार कारबाही हुनेछ, एसएसपी चन्दले भने, ‘उनीहरु मुछिएको जुवा प्रकरणमा पेशागत लापरबाही वा आर्थिक पाटो लगायतका सबै विषयमा अनुसन्धान भईरहेको छ।’
जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह (आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको आरोप लागेको थियो। नेपाल प्रहरी केन्द्रीय बिभागको निर्देशनमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख नेपाल प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
जुवाडेसँग भएको पैसा ठूलो परिमाणमा लिए पनि ८५ हजार रूपैयाँ मात्र फेला परेको मुचुल्का बनाएको प्रहरीलाई आरोप थियो।