
दाङ । सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । पुल निर्माणमा ढिला सुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबि जेभिका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न प्रशासनले निर्देशन दिएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बिहिबार बिहान कुराकानी गर्दै निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिनुभएको छ । 
घोराही लमही सडकखण्डमा पर्ने सिस्ने खोलाको पुल निर्माणलाई छिटो छरितो बनाई एक महिनाभित्रै संचालनमा ल्याउन गत साउनमा निर्देशन दिएपनि अझै सम्म संचालनमा नआउँदा समस्या भएको विज्ञप्ती प्रशासनले गत साउन २५ गते नै प्रकाशित गरेको थियो ।
तर अझै पक्राउ नपरेपछि फेरि बिहिबार बिहान निर्देशन दिएको प्रजिअ कुुरुम्बाङले जानकारी दिनुभयो ।
खोलामा समयमै पुल निर्माण नहुँदा गएराती कारलाई खोलाले बगाएर चार जनाको मृत्यु भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले एक महिना अघि निर्माण व्यवसायी केसीले पुल निर्माणको काम एक महिनामै सक्ने प्रतिवद्धता गरेको भनेर फोटोसहितको स्टाटस राख्नुभएको थियो ।