ABC (क्राईमबिट)
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले स्रोत नखुलेको २२ लाख ९३ हजार रुपैयाँ बरामद गरेको छ ।
प्रहरीको सादा पोशाकको टोलिले आइतबार अपराह्न उक्त अबैध रकमसहित एक ब्यक्तिलाई पक्राउ गरेको हो । तर प्रहरीले पक्राउ परेका ब्यक्तिको परिचय गोप्य राखेको छ ।
बरामद रकम र पक्राउ ब्यक्तिबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले आफुलाई केही जानकारी नभएको भन्दै पन्छिन खोजे । ‘मलाई केही जानकारी छैन, कृष्णनगरतिरै बुझ्नुस्’ डीएसपी भण्डारीले भने ।
कपिलवस्तु प्रहरी स्रोतका अनुसार बरामद रकम र पक्राउ परेका ब्यक्ति छुटाउन नेपाल प्रहरीका केही एआईजी र डीआईजीले नै ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुकदेव पौडेललाई दबाब दिएको खुल्न आएको छ । त्यसो त बरामद रकम बैध रहेको देखाउन केही ब्यापारीहरु समेत चलखेलमा लागेको स्रोतले जानकारी दियो ।
बरामद भएको रकम र पक्राउ परेका ब्यक्तिबारे जानकारी लिन खोज्दा प्रहरी निरिक्षक पौडेलले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी धर्मराज भण्डारीबाट जानकारी लिन अनुरोध गरे । ‘हामीले एकजना मानिसलाई पक्राउ गरेर रकम बरामद गरेका छौं, अनुसन्धानको क्रममा उहाँहरुले बैंकबाट रकम निकालेको भन्नुभएको छ, बाँकि सबै जिल्लाबाटै बुझ्नुस्’ उनले भने । सुरक्षा न्युजबाट