
दाङ । घोराही उपमहानगरपालिकाको रा. १ ग ११ नम्बरको गाडीमा २०७७ असार २६ गतेदेखि साउन २० गतेसम्म साढे सात सय लिटर ईन्धन प्रयोग भयो। उक्त गाडीमा २०७७ असार २६ गते १ सय ५० लिटर, साउन २ गते १ सय ५० लिटर, साउन ६ गते १ सय ५०, साउन ११ गते १ सय ५० र साउन २० गते १ सय ५० लिटर ईन्धन हालिएका कुपन भेटिन्छन्। तर यि कुपनहरु सबै फर्जी हुन्। कारण यो अवधिमा उक्त गाडी बिग्रिएर थन्किएको थियो, चालु अवस्थामै थिएन।
बिग्रेकै गाडीमा ईन्धन प्रयोग भएको जानकारीपछि एउटा छानविन समिति बनाइयो। उक्त समितिले गरेको अनुसन्धानका क्रममा घोराही उपमहानगरका नाममा ईन्धनको चरम दुरुपयोग भएको तथ्य खुलेको छ। ‘११ नम्बरको बिग्रेको गाडीमा ईन्धन हालिएको भन्ने आशंकापछि छानविन समिति बनाइयो,’ यो छानविन समितिका एकजना सदस्यले भने, ‘जबकी यो गाडीले बिग्रेको अवधिमा पनि तेल हालेको देखियो।’ 
लकडाउन अवधिभर उपमहानगरका दुई गाडी रा १ ग १७ र १३ नम्बरका गाडीले एउटै मितिमा लगातार ईन्धन भरेको कुपन काटे। तर रा १ ग १७ नम्बरको गाडी पनि त्यो बेला चालु अवस्थामै थिएन। छानविन समितिका अनुसार उक्त गाडीका चालक नबिन बिक्रम शाही बिदामा थिए। ‘यो गाडीका चालक लकडाउन अवधि भर बिदामा बसेको देखिन्छ,’ छानविन समितिको प्रतिवेदनमा भनिएको छ, ‘तर उनले चलाउने गाडीले लकडाउनमा लगातार ईन्धन हालेको देखिन्छ।’
यि मात्रै हैन, घोराही उपमहानगरपालिकाका गाडीहरुले अस्वाभाविक ईन्धन प्रयोग गरेको पाइएको छ। फोहाेर बोक्ने गाडीदेखि एक्सकाभेटरले समेत अस्वाभाविक तेल प्रयोग गरेको छानविन समितिको प्रतिवेदनले प्रष्ट पार्छ।
घोराही उपमहानगरपालिकाको जेसिबिले प्रतिघण्टा १० लिटर तेल खपत गर्दै आयो। तर उक्त जेसिबीमा प्रतिघण्टा जम्मा ८ लिटर मात्रै ईन्धन खपत गर्दाेरहेछ। खपत गरिएको तेलको कुपनका आधारमा जेसिबिमै प्रतिघण्टा दुई लिटर ईन्धन घोटाला भएको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ। यसैगरि एक्सकाभेटरमा पनि प्रतिघण्टामा दुई लिटर ईन्धन घोटाला भएको देखिएको छ। एक्सकाभेटरले ईन्धन भरेको कुपनका आधारमा प्रतिघण्टा १५ लिटर ईन्धन भर्ने गरेको देखिन्छ। तर एक्सकाभेटरमा प्रतिघण्टा १३ लिटर मात्रै ईन्धन खपत हुने गरेको छानविन समितिका एक सदस्यले जनाए। फोहाेर बोक्ने गाडीमा प्रतिट्रिप ९ लिटर तेल बढी घोराही बजारको फोहाेर संकलन गरेर ल्याण्डफिल साईटमा पुर्याउने गाडीहरुमा प्रयोग भएको ईन्धन खर्च अस्वभाविक छ। यि गाडीहरुले प्रतिट्रिप २० लिटरका दरले ईन्धनको कुपन पाउँदै आए। तर यि गाडीहरुमा खपत हुने ईन्धनको परिमाण भनेको जम्मा ११.३० लिटर मात्रै हो। यसरी गाडीहरुमा पनि प्रतिट्रिप ८.७० लिटरका दरले ईन्धन घोटाला भएको छानविन समितिले जनाएको छ। उपमहानगरको ट्याक्टर देखाएर निजी गाडीमा तेल
आन्तरिक तथा खरिद व्यवस्थापन शाखा प्रमुख बाबुराम पन्थीले रा १ द १२० नम्बरको ट्याक्टरमा १ सय ५० लिटर ईन्धन भरेको कुपन पेश गरे। जबकी यो ट्याक्टरको तेल ट्यांकीको क्षमता नै १ सय ५० लिटर ईन्धन (डिजेल) अट्ने हैन रहेछ। छानविन समितिका अनुसार उनले १ सय लिटर ईन्धन उक्त निजी गाडीमा प्रयोग गरेका थिए। अर्जुन आचार्यको बा १९ च ५९०९ नम्बरको निजी गाडीमा तेल प्रयोग गरेको पुष्टि छानविन समितिले गरेको छ। छानविन समितिका अनुसार पन्थी निजी प्रयोजनका लागि अर्घाखाँची जाने क्रममा निजी गाडीमा उक्त ईन्धन भरेका थिए। ‘उहाँ (पन्थी) ले ईन्धन भरेको भनेर ट्याक्टरको गलत बिवरण पेश गर्नुभयो,’ छानबिन समितिका सदस्यले भने, ‘तर उहाँले निजी गाडीमा इन्धन भर्नुभएको छ।’
पेट्रोल पम्पबाट नगदै असुली
उपमहानगरको ट्याक्टरमा ईन्धन भरेको भनेर झूठो बिवरण पेश गरेर नीपज गाडीमा ईन्धन भरेका जिन्सी शाखा प्रमुख बाबुराम पन्थीले त पेट्रोल पम्पबाटै नगद समेत असुली गरे। उनले बिभिन्न गाडीहरुको तेलको कुपन पेश गरेर पेट्रोल पम्पहरुबाट २ लाख ५० हजार रुपैयाँ नगद असुलेको छानविन समितिले जनाएको छ। पन्थीले रा. १ ग १७,रा.१ ग ११ र रा. १ ग १३ नम्बरका एक्सकाभेटर तथा जेसिबि लगाएतका गाडीहरुको तेलको कुपन पेश गरेर बिभिन्न पेट्रोल पम्पहरुबाट १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद बुझेको समितिले पुष्टि गरेको छ।
उहाँ (पन्थी) ले मौखिक सोधपुछका क्रममा आफूले रकम लिएको स्वीकार गर्नुभयो,’ छानविन समितिका एक सदस्यले भने, ‘तर उहाँले आफूले उक्त रकम संस्थागत प्रयोजनमा खर्च भएको भनेर जवाफ दिनु भएको थियो।’ पन्थीले उपमहानगरको लेखा परीक्षणका क्रममा खानपिन र भ्रमण खर्च गर्नुपर्ने भएकाले रकम लिएको बताएका थिए। तर यो रकम निकासाको नियत घोटाला नै पुष्टि भएपछि पन्थीलाई उक्त रकम फिर्ता गर्न लगाइएको थियो। उनलाई ९५ हजार क्रिजल पेट्रोल पम्पको नाममा र १ लाख ५५ हजार रुपैयाँ अरुणोदय पेट्रोल पम्पका नाममा जम्मा गर्न लगाइएको थियो। उनी अहिले कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा सरुवा भएका छन् ईन्धनमा मासिक १७ लाखसम्म घोटाला स्थानीय तह स्थापना पश्चातको ३ वर्ष २०७७ सम्म ईन्धनमा चरम घोटाला भएको देखिन्छ। घोराही उपमहानगरपालिकामा ईन्धनमा मासिक लाखौँ रकम घोटाला भएको छानविन समितिको प्रतिबेदनले देखाउँछ। घोराही उपमहानगरपालिकाका गाडीहरुमा २०७७ साउनमा मात्रै २३ लाख ७२ हजार ४ सय ६१ रुपैयाँ ईन्धन खर्च भएको छ। यो अनियमितता छानविनका लागि समिति बनेपछि गरिएको निगरानी पश्चात अर्को महिना भने यो ईन्धन खर्च मासिक १६ लाख ३३ हजार २ सय ८६ रुपैयाँले कमी आयो। छानविन समितिको प्रतिबेदन अनुसार २०७७ असोज र कात्तिक गरि दुई महिनाको कुल खर्च १४ लाख ५८ हजार ३ सय ५० रुपैयाँ मात्रै खर्च भयो। प्रति महिनाको भाग लगाउँदा जम्मा ७ लाख २९ हजार १ सय ७५ मात्रै पर्न आउँछ। २०७७ कात्तिकमा भने ईन्धन खर्च झनै कम आयो। अघिल्लो साउन महिनाको खर्च भन्दा कात्तिकमा १७ लाख ७६ हजार बढी रकम घटेको छ। यता घोराही उपमहानगरले भने ईन्धनमा घोटाला भएको भन्न नमिल्ने दाबी गर्छ। लकडाउनका बेला गाडीहरु बढी चलेको र ईन्धन पनि बढी खपत भएको उसको दाबी छ। छानविन समितिले कसरी प्रतिवेदन तयार पार्नु भयो? तेस्रो आँखाबाट