(ABC-Sanchar)
रौतहट । जिल्ला प्रहरी कार्यालय गौरले विशेष सूचनाको आधारमा गौर नगरपालिका ४ स्थित शिवांगी पेट्रोल पम्प नजिक रोकिराखेको ना ८ ख ५९४३ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा १२ वटा पोका (प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले) झण्डै १ सय ८६ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । उनका अनुसार गाँजासहित मिनी ट्रक चालक मकवानपुर थाहा नगरपालिका १२ का सिकिन्द्र गोले र रिक्तम तामाङलाई पक्राउ गरिएको छ । दुवै जनालाई जिल्ला अदालत गौरमा लागूऔषध मुद्दामा म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ट्रकमा मकवानपुरबाट गाँजा लोड भएको अनुमान छ । बीचमा प्रहरीको दर्जनौं चेक प्वाईन्ट भए पनि पत्ता लाग्न सकेन ।
गाँजा भारत बिक्रीका लागि लैजान लागेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भन्ने अनुसन्धान हुँदैछ,‘एसपी घिमिरेले भने,‘यसको मुख्य नाका र बिक्री गर्न लैजान लागेको गन्तव्यबारे पत्ता लगाउँछौं ।’ रोकिराखेको ट्रकको चेसिसको भागमा फल्स बटम बनाई प्लास्टिकले बेरिएको १२ पोका गाँजा बरामद भएको हो ।