
(ABC-Sanchar)
काठमाडौँ । लामो समयसम्म काम अलपत्र पार्ने निर्माण (ठेकेदार) कम्पनीसँग सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण माग गरेको छ । ज्वाइन्ट भेन्चरमा काम गरेका पप्पु कन्स्ट्रक्सन सहित ७ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो । पटक–पटक थप भएको म्यादमा पनि काम सम्पन नगरेपछि सात दिनको सूचना निकालेर आयोजनाले स्पष्टीकरण माग गरेको हो । 
पटक/पटक लिखित पत्र, मिटिङ माइन्युट तथा मौखिक निर्देशन मार्फत आग्रह गर्दा समेत निर्माणको काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएकाले स्पष्टीकरण माग गरिएको आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ । निर्माण सम्पन्न हुने ठोस कार्यतालिका र विश्वसनीय स्पष्टीकरणसहित आयोजनामा उपस्थित हुन र निर्माण कार्य तत्काल थाल्न सूचनामार्फत भनिएको छ ।
आयोजनाका अनुसार पीएस/विरुवा जेभीले २०७३ कात्तिक ५ गते निर्माणको ठेक्का लिएको रत्ननगर सभाहल अझै अधुरो छ । त्यस्तै पप्पु/शिवशक्ति जेभीले रामग्राम नगरपालिका २ स्थित हाट बजार निर्माणका लागि २०७४ असार २९ मा ठेक्का लिए पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा सडक र ढल निर्माणको ठेक्का पाएका सन्तोषी/कान्छाराम/डाँफे जेभीले निर्माणको काम अधुरै राखेका छन् । ती कम्पनीलाई २०७५ असार १५ मा ठेक्का दिइएको थियो । रासस