(ABC-Sanchar)
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएको छ। माघ २ गते राप्रपालाई आयोगले निर्देशनात्मक पत्र पठाएर विधानबाट सात दिन भित्र सनातन हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन आग्रह गरेको छ ।
यसअघि राप्रपाले पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो।
सनातन हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको मान्यता स्थापित गर्न र कायम गर्ने भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवमं भावनाको प्रतिकूल देखिएकाले भन्दै आयोगले ती वाक्यांश हटाउन आग्रह गरेको हो ।
राप्रपाको विधानको प्रस्तावनाको ४ मा ती वाक्यांश उल्लेख गरिएका छन् ।
त्यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ। राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनस्स्थापनाको एजेन्डा बोकेको पार्टी हो ।