ABC (क्राईमबिट)
नवलपरासी । जिल्लाको बर्दघाट नगरपालिका १६ स्थित दाउन्नेदेवी सामुदायिक वनमा पोथी बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।
तस्करीले बाघलाई तारको पासोमा पारेर गोली हानी हत्या गरेको हुन सक्ने गुप्ताले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
घाँस, दाउरा काट्न सामुदायिक वनमा गएका स्थानीयले मृत बाघ देखेपछि वन कार्यालयमा खबर गरेका थिए । स्थानीयको खबरपछि नजिकैको श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणका सेना, वन कर्मचारी, प्रहरी र स्थानीय घटनास्थल पुगेका थिए ।
बाघको घाँटीमा पासो लगाएको डाम र शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । १ सय ५० किलोग्राम बाघ साढे ७ फिट लम्बाई र साढे ३ फिट उचाईको रहेको प्रमुख गुप्ताले बताए ।