ABC (क्राईमबिट)
पोखरा । अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा–३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् ।
अवैधरुपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडाबाट संयुक्त टोली खटिएको थियो । प्रहरीले माइक्रोमा जाँचका क्रममा रमेशको साथबाट चारपाटे बिस्कुट आकारको सुन बरामद गरेको हो । उनको साथबाट विभिन्न बैंकका ३ थान चेकबुकसमेत प्रहरीले बरामद गरेको छ ।
पोखरा–१५ रामबजार बस्ने उनलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।