२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

समयमै उपचार भए क्यान्सरबाट जित हुन्छ प्रदेश वनमन्त्री सुरेन्द्र हमालसंगको कुराकानी

Logo
प्रकाशित शनिबार, माघ २२, २०७८


(महेन्द्र सिंह)
बाँके । लुम्बिनी प्रदेशका बन मन्त्री सुरेन्द्र हमाल संग गरिएको कुराकानी यस्तो छ । दाइ यो त क्यान्सर हो ।’ लखनउको आरएमएल ल्याबका डा पुनित मल्होत्राको रिपोर्ट ओल्टाइपल्टाइ हेरेपछि डा संकेत रिसालले भने । सधैंं हँसिमजाक गरिरहने रिसालको अनुहार एकाएक फेरिएको देखेरै म झस्किसकेको थिएँ । अलि अघिसम्म ‘पहलमानलाई कुन रोगले छुन सक्छ ?’ भन्दै चस्मामाथिबाट मेरो अनुहार पुलुक्क हेर्दै उनले रिपोर्ट पल्टाएका थिए ।
रिपोर्ट हेरेपछि उनी एकाएक गम्भीर भए । त्योभन्दा बेहाल मेरो भइसकेको थियो । छाँगाबाट खसेझैँ भयो । आँखा तिरमिराए । चक्कर लाग्लाझैँ भयो । तैपनि, पीडा नदेखाएर आफूलाई सम्हाल्ने कोसिस गरेँ । मनमा अनेक कुरा खेल्न थालिसके । तर, रिसालका अगाडि भने रिपोर्टलाई सहज मानेझैँ गरेँ ।
‘धेरै आत्तिनुपर्दैन दाइ । क्यान्सर सञ्चो हुन सक्छ,’ उनले सान्त्वना दिँदै भने, ‘उपचारमा चाहिँ अब ढिलो गर्नु हुन्न ।’
रिसाल भेरी अञ्चल अस्पतालका पेटरोग विशेषज्ञ हुन् । स्थानीय हुन्, त्यसैले पुरानो चिनजान छ । नेपाली कांग्रेसका नेता ज्ञानराज शर्माका छोरा भएकाले राजनीतिक रूपमा पनि हामी नजिक छौँ । त्यसैले उनी मलाई दाइ भन्छन् ।
बिरामी परेपछि डाक्टर रिसाल र मेरो यो चौथो भेट थियो । शरीरको तौल घट्ने र पेटमा गडबडी एकैपटक सुरु भएको थियो । पखाला र आउँ नरोकिएपछि पहिलोपल्ट उनको क्लिनिक गएको थिएँ । उनले औषधि लेखे र एक हप्तापछि आउन भने । एक सातापछि जाँदा अर्को चार हप्ताको औषधि लेखिदिए । त्यो औषधिले पनि काम गरेझैँ लागेन । त्यसपछि म अरुकहाँ धाउन थालेँ ।
डा एम किदवाईकहाँ गएँ । उनको औषधिले पनि छोएन । जयसपुरका वैद्यहरूकहाँ धाएर घरेलु औषधि खाएँ । बाबा रामदेवको क्लिनिकमा पुगेँ । रामदेवका शिष्यले २१ दिनको औषधि दिए र ब्यायाम गर्न सल्लाह दिए । त्यसले पनि छोएन । बिरामी हुँदा साँच्चै मन अस्थिर हुँदो रहेछ । एउटाले एकातिर भन्छ, त्यता गयो । अर्कोले अन्तै भन्छ, उसकहाँ धायो । झण्डै सात महिना त्यसैगरी बितेको थियो ।
आउँ नरोकिएर चर्पीकै बास हुने स्थिति आयो । शरीर गल्दै गयो । जति औषधि खाए पनि सुधार भएन । हैन, अब यसरी भौँतारिएर हुन्न भन्ने लागेपछि फेरि डा रिसाललाई सम्झिएँ ।
‘कहाँ हराउनुभयो दाइ ?,’ देख्नासाथ उनले भने । मैले नढाँटी सबै बताएँ । उनले असन्तुष्टि मिश्रित मजाक गरे, ‘पहलमान भेटेपछि घुमाउनुसम्म घुमाएछन् त ।’‘एक पटक इन्डोस्कोपी गराएर हेरौँ,’ उनले पर्चा लेख्दै भने ।
सुरुमा इन्डोस्कोपी गराएँ । सानो आन्द्रामा केही देखिएन । ठूलो आन्द्राको परीक्षण गर्न कोलोनोस्कोपी गर्नुपर्ने भयो । डा रिसालले भारत लखनउका फिजिसियन डा। पुनित गुप्तालाई पत्र लेखिदिए । कोलोनोस्कोपी गर्दा ठूलो आन्द्रामा घाउ देखियो । त्यसको बायोप्सी गर्न लगाए । त्यसैको रिपोर्ट २ फागुन ०६८ मा इमेलबाट आएको थियो ।
क्यान्सर पुष्टि भएपछि बल्ल मलाई १० महिना ख्यालख्यालैमा फ्याँकेकोमा पछुतो लाग्यो ।
रिपोर्टले मथिंगल घुमिरह्यो । मैले श्रीमतीलाई सम्झिएँं । छोरी श्रीया र छोरा शुभमको माया लागेर आयो । क्यान्सर लागेको थाहा पाएपछि उनीहरूको के हाल होला ?
क्यान्सर रोग कुन चरणमा छ, त्यसैका आधारमा उपचार सफल हुने नहुने टुङ्गो लाग्छ भन्ने सुनेको थिएँ । भर्खर छोएको हो भने पूर्ण निको होला । हैन भने उपचार गरेर पनि निको हुने या नहुने टुङ्गो हुन्न भन्थे भुक्तभोगीहरू । डाक्टरले मेरो क्यान्सर दोस्रो चरणको भनिसकेका थिए । विशेषज्ञबाट निर्क्योल हुन भने बाँकी नै थियो ।
अब घर गएर अनितालाई के भन्ने ? पिर लाग्न थाल्यो । एक मनले नभनौँ कि भन्यो । तर, उसलाई नभने कसलाई भन्ने ? सँगै बाच्ने सँगै मर्ने नाता उसैसँग त थियो । जे हो, त्यही भन्नुपर्छ । अर्को मनले चित्त बुझायो, रोग पत्ता नलाग्नु पो चिन्ता । रोग थाहा भएपछि केको चिन्ता ? अब उपचारको उपाय पो निकाल्नुपर्‍यो त । डा। रिसालको क्लिनिकबाट निस्कँदा अन्तर्मनको द्वन्द्व चलिरह्यो ।डा मल्होत्राले एक सातापछि पठाएको रिपोर्ट लिएर रिसालकहाँ पुगेको थिएँ । लखनउबाट एक साताभित्र रिपोर्ट इमेल गरिदिने भनेका थिए । नेपालकै फिजिसियनलाई देखाए हुने भनेकाले म रिपोर्ट नकुरेरै फर्केको थिएँ । छोरा शुभमले इमेल चेक गर्‍यो । रिपोर्टको स्क्यान कपी आएको रहेछ । प्रिन्ट गर्ने झन्झट के गर्नु ? अनितालाई सादा कागज र कलम ल्याउन भनेँ, रिपोर्ट टिप्न । लेखिएका बुँदाहरू शुभमले पढ्दै गयो, मैले हुबहु टिपेँ ।
पूरै रिपोर्ट पढेपछि ‘सबै नर्मल’ भनेको छ’ भन्दै शुभम कतै निस्क्यो । हुन पनि, जे शंका गरिएको थियो, रिपोर्टमा त्यो कतै थिएन । क्यान्सर कतै लेखिएको थिएन । तर, प्रस्टसँग लेखिएको ‘कार्सिनोमा स्टेज बी’को अर्थ के होला रु मेरो मनमा चिसो पसेको थियो । शब्दावलीको अर्थ मैले बुझिनँ । वास्तवमा मनमनै झस्किएको पनि नबुझेरै हो । तैपनि, नबुझेरै के चिन्ता गर्नु भनेर मन थामेको थिएँ । अब त्यो बाटो पनि रहेन ।
डा रिसालको क्लिनिक अघिल्तिर खाली रिक्सा भेटियो । एउटा हातमा रिपोर्ट र अर्को हातले रिक्सा समाएर घर फर्कें । अस्पतालदेखि घरबारी टोलको दूरी त्यो दिन निकै पट्यारलाग्दो लागेको थियो । भर्खर हुर्केको चैते मध्याह्नको गर्मीमा डा। मल्होत्राको रिपोर्ट थपिएको थियो । चिटचिट पसिनाले घर पुग्दासम्म शरीर मात्र हैन, अँगौछासमेत निथ्रुक्कै भइसकेको थियो । ओलम्पियन किताबबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]