काठमाडौं, चैत ०७ । यौन दुर्व्यवहारको विषयलाई लिएर तनाव हुँदा मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या गरिएको छ। आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गरिएका उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको घटनास्थलमा रहेका मोरङ प्रहरी प्रमुख जनार्दन जोशीले बताए।‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं’ उनले भने।
आइतबार लेटाङ -५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा-६ अध्ययनरत विद्यार्थीलाई ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेपछि स्थानीयहरु आक्रोशित बनेका थिए। विद्यालयमा रहेका शिक्षक पौडेललाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति नाजुक बनेको थियो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।
भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रटोल बम प्रहार भएको प्रहरीको दाबी छ। नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले झडपमा घाइते भएका प्रहरी जवानको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। साभार