२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

बुटवल नारायणघात सडक निर्माणकार्य अत्यन्तै सुस्त यात्रु तथा सवारीलाई सास्ती

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

 (राकेश श्रेष्ठ)
चितवन । चालकले ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउनुहुन्छ । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुवेदीको भनाइ छ ।

कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । सडकमा जमेको पानीले निकास नपाउँदा राजमार्गमा ठूला–ठूला खाल्डा बनेका हुन् । “सडकको विभिन्न ठाउँमा डाइभर्सन गराएर पुल निर्माणको काम भइरहेकाले रात्रिकालीन यात्रा झन् कष्टकर बनेको छ”, सुवेदीले भन्नुभयो ।

गैँडाकोट–८ का व्यवसायी शालिकराम सापकोटाले सडक बनिसक्न ढिला हुँदा यात्रुको बिजोग भएको बताउनुभयो । देशकै मुख्य राजमार्गको रूपमा रहेको यो सडकको दुरवस्था हुँदासमेत कसैलाई मतलब नै नभएको उहाँको भनाइ छ । “व्यावसायिक कामका लागि कहिले नारायणगढ त कहिले बुटवल जानुपर्छ”, सापकोटाले भन्नुभयो, “आफ्नै गाडीमा हिँड्यो भने बाटोका कारण कहाँ पुगेर बिग्रिने हो थाहै हुँदैन, सार्वजनिक सवारीसाधन चढौँ भने सामान्य अवस्थामा भन्दा चार गुणा बढी समय लाग्छ ।”

सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकामा अहिले सात घण्टा लाग्ने गरेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नं १ का सङ्घीय सांसद तिलक महतले बताउनुभयो । आफूले यसबारे बारम्बार संसद्मा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको महतको भनाइ छ ।

पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघिदेखि नै सडकमा हुने खाल्डाखुल्डीका कारण समस्या हुँदै आएको थियो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट पुल्चोकबाट बुटवलसम्मको करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको प्रायः सबै ठाउँमा खाल्डाखुल्डी छन् । यस खण्डमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही तीनवटै जिल्लामा लगभग पूरै सडकभरि खाल्डाखुल्डी मात्रै देखिन्छन् । चार लेनमा विस्तार भइरहेको राजमार्गका ठाउँठाउँमा बनेका ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्को पानी जमेर यात्रा कष्टकर बनेको यात्रु तथा चालकहरु बताउँछन् ।

नारायणगढबाट बुटवलसम्म साढे एक घण्टामा पुग्ने गरी सडक विस्तार भइरहेको भए पनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रामा कठिनाइ हुने गरेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ४१ महिनामा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

साना–ठूला गरी दैनिक १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा झनै प्रभावित भएका छन् । बुटवल–नारायणगढ सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या एम्बुलेन्स चालकलाई हुने गरेको संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।
एम्बुलेन्सले सबै खालका बिरामी बोकेर चाँडो अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको भन्दै लामिछानेले बाटोका कारण बिरामीलाई समयमै अस्पताल पु¥याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल हुने गरेको बताउनुभयो । सडकका खाल्डाखुल्डीका कारण एम्बुलेन्स चलाउन र बिरामीलाई समयमै अस्पताल पु¥याउन साह्रै समस्यामा हुने गरेको उहाँको भनाइ छ । मध्यविन्दुको चोरमाराबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक वीरबहादुर महतोले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारीसाधन गुडाउनै समस्या पर्ने गरेको बताउनुभयो ।

सडकमा भएका ठूला–ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चालकहरु बताउँछन् । “घाम लागेको बेलामा गाडी गुडाउँदा कहिलेकाहीँ त धुलो उडेर बाटो नै देख्न नसकिने अवस्था समेत आउँछ” महतोले भन्नुभयो, “खाल्डाखुल्डी मर्मत गर्ने र धुलो उड्न नदिने गरी पानी छर्किने हो भने हामीलाई गाडी चलाउन केही राहत मिल्ने थियो ।”

सडकको दुरावस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन् । कावासोती–१६ डण्डामा फेन्सी पसल सञ्चालन गर्दै आउनुभएका दधि नेपालले राजमार्गमा उड्ने धुलो र हिलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताउनुभयो । “सडक विस्तारका लागि भनेर धेरै ठाउँमा सडक छेउमा खन्ने र माटो थुपार्ने काम भएको छ” नेपालले भन्नुभयो, “यहाँ पानी पर्दा बाटो र पसलसमेत हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ ।” नारायणगढ–बुटवल सडकमा निर्माणको हालसम्मको निर्माण चित्तबुझ्दो नभएको र अहिले पनि निर्माण सुस्त भएको नारायणगढ–बुटवाल सडक योजना पूर्वी खण्डले जनाएको छ । पूर्वी खण्डमा अहिलेसम्म १७ दशमलव ७३ प्रतिशत र पश्चिम खण्डमा १९ दशमलव २९ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख रमेशकुमार दिष्टिले बताउनुभयो ।

उहाँका अनुसार ठेक्का लाग्दाको अवधि दुई हप्ता मात्रै बाँकी रहेको छ । आयोजनाले ठेक्काको अवधि थप गर्न सिफारिस गरेर विभाग पठाएको छ । अवधि थपका लागि प्रक्रिया बढाइए पनि निर्माण कम्पनीको काम चित्तबुझ्दो छैन । कार्यालयको कारण वा कोभिडलगायतका कारणले भए अवधि थप गर्न सकिने तर निर्माण व्यवसायीका कारण नसकिएमा थप नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीको कारणले भए जरिवाना गरिन्छ ।”

सडक निर्माणका लागि सडकको क्षेत्राधिकारमा रहेका संरचना रुख, विद्युतको पोल, खानेपानीको पाइप हटाउनु चुनौतीका रुपमा रहेको थियो । बिजुलीको ठाउँठाउँ अप्ठेरो भए पनि प्राधिकरणको समन्वयमा हटाउन लागिएको योजनाले जनाएको छ । अहिले निर्माणस्थल खाली गर्ने काम धेरै भइसकेको छ । उहाँले भन्नुभयो, “रुख काट्न दुई–चार वटा मात्रै बाँकी रहेको छ ।” निर्माणाधीन १० मध्ये पनि पाँचमा माथिको स्लाप र बिम मात्रै (टप स्ट्रक्चर) राख्न बाँकी रहेको प्रमुख दृष्टिले बताउनुभयो । पाँचमा जगको काम भइरहेको छ भने दुई वटा साना पुलमा वर्षाका कारण काम हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!