
ABC (क्राईमबिट)
काठमाडौं । हाल रिक्त ५ वटा एआईजी पदमा बढुवा हुन आईजीपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेटहरू डीआईजी मसाउद आलम खाँ, डीआईजी नलप्रसाद उपाध्याय र डीआईजी मोहनकुमार आचार्यसमेत सक्रिय छन् । उनीहरू ऐन संशोधन भए वा नभए एक महिनाका लागि भए पनि एआईजी बनेर अवकाश हुनका लागि लबिङ गरिरहेका छन् ।
प्रहरीमा भर्ना वरीयतामा अघि रहे पनि यी तीनै जनाको कार्यसम्पादन मूल्याकंन र व्यावसायिक आचरण अब्बल नरहेको संगठनभित्र चर्चाको विषय बनिरहेको छ ।
महानिरीक्षक सिंह र संगठनले भावी नेतृत्वमा पुग्नेहरूमध्ये अब्बल पाँच जनाको बढुवाको चाहना राखेको छ ।
यता गृहसचिव विनोदप्रकाश सिंहले आफ्ना नातेदार पर्ने डीआईजी अशाेक सिंहको बढुवा गर्न तीव्र लबिङ गर्दै आएको गृह मन्त्रालय स्रोतको दाबी छ ।
उनको बढुवाका लागि गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय बालुवाटारसम्मका शक्ति केन्द्रमा दौडधुप चलिरहेको छ । गृहसचिव सिंह नै नातेदार बढुवाको चलखेलमा लागेको भन्दै बढुवाका अन्य दाबेदार उच्च प्रहरी अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् ।
एआईजीको स्वाभाविक दाबेदारमा सिंहभन्दा अघि डीआईजी वसन्तबहादुर कुँवर र टेकप्रसाद राई छन् भने सिंह तेस्रो नम्बरमा छन् । उनीपछि डीआईजी दीपक थापा छन् ।
प्रहरी संगठनमा कमाण्ड, व्यावसायिकता, इमानदारिता र कार्यसम्पादनमा सिंहभन्दा कुँवर, राई र थापा अब्बल मानिन्छन् । डीआईजी सिंह काठमाडौं प्रहरी प्रमुख रहँदा होस् वा एसपी भएका बेला आर्थिक लेनदेन विवादमा परेका अधिकृत हुन् ।
वरीयतामा एक नम्बरमा रहेका कुँवर, दोस्रोमा रहेका राई र तेस्रो स्थानमा रहेका सिंह एकै ब्याचका हुन् । उनीहरू ५ चैत २०५१ मा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए । चौथो स्थानका थापा एकै ब्याचका भए पनि उनले १९ भदौ २०५२ मा नियुक्ति पाएका थिए । २०५१ मा सेवा प्रवेश गरेकाहरू आईजीपी बनेमा २०८१ को चैतसम्मको कार्यकाल रहने छ ।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वराज पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी डीआईजी र एआईजीमा बढुवा गरेको थियो । तर, सरकारबाट ओलीको बहिर्गमन र शेरबहादुर देउवाको प्रवेश भएसँगै पोखरेलले आईजीपी बन्ने सौभाग्य पाएनन् । देउवा सरकारले एआईजीमा अन्य अधिकारीको बढुवा गरी धीरजप्रताप सिंहलाई आईजीपी बनाएका थिए ।फर्दाफासबाट