(ABC-Sanchar) काठमाडौं । प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आइपुगेका छन् । संसद् चलिरहेकै बेला एकैसाथ ठूलो संख्यामा सांसदहरू ९ दिने भारत भ्रमणमा आएका हुन् ।
सांसदहरूको भ्रमण कार्यक्रमका विषयमा संसद् सचिवालयलाई समेत जानकारी गराइएको छैन भने दिल्लीस्थित नेपाली दूतावास पनि बेखबर छ ।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदहरूलाई दिल्ली ल्याएको हो । दिल्ली भ्रमणमा कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र सीता मिजार, एमालेका मेनुका पोखरेल, बलराम अधिकारी, नारायण आचार्य, सराज अहमद फारुक छन् । त्यस्तै, माओवादीका माधव सापकोटा र मीना तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ढककुमार श्रेष्ठ र एकीकृत समाजवादीका शेरबहादुर कुँवर पनि भ्रमण टोलीमा छन् । बिहान ८ बजे नेपाल एयरलाइन्सको विमानबाट आएका सांसद गुरुग्रामस्थित र्याडिसन होटलमा बसेका छन् ।
भ्रमण टोलीमा १९ सांसदको नाम रहेकामा अन्तिममा १२ जना मात्रै दिल्ली आएका हुन् । संस्थाका अध्यक्ष अरविन्द महतोले भारतको संसदीय व्यवस्था प्रणालीको अध्ययन अवलोकनका लागि सांसदहरूलाई भारत भ्रमण गराइएको बताए । उनका अनुसार भ्रमणको कार्यसूचीमा संसदीय अभ्याससम्बन्धी अन्तर्क्रियाको कार्यक्रम भने देखिँदैन । भ्रमणको दोस्रो दिन बुधबार ११ बजे संसद् भवन घुमाउने कार्यक्रम मात्रै छ । लोकसभा वा राज्यसभाका अध्यक्षसँग भेटघाटको कार्यक्रम पनि सूचीमा छैन ।
सांसद टोलीलाई दिल्ली र मुम्बई घुमाउने कार्यक्रम छ । पहिलो दिन नीति आयोगमा लगिएको थियो । आयोगका सदस्य रमेश चन्दले सांसदहरूसँग अन्तर्क्रिया गरेका थिए । उनीहरूलाई महात्मा गान्धीको समाधीस्थल घुमाइएको छ ।
दोस्रो दिन प्रधानमन्त्री संग्रहालय र संसद् घुम्ने कार्यक्रम छ । त्यसपछि सांसदहरू विवेकानन्द फाउन्डेसनमा आयोजित अन्तर्क्रियामा सहभागी हुनेछन् । साँझ ५ बजे नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जिवसिंह पुरीसँग भेटको कार्यक्रम छ । सांसदहरूले नेसनल हाइड्रोपावर कर्पोरेसन, फिकी, सतलज विद्युत् निगम तथा विश्व हिन्दु परिषद्को कार्यालयको भ्रमण र अन्तर्क्रिया गर्ने कार्यसूची छ ।
विदेश मन्त्रालयका नेपाल–भुटान हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गर्ने कार्यक्रम छ । भ्रमणको चौथो दिन बिहान १० बजे विदेश मन्त्रालयमा र ११ बजे भाजपा कार्यालयमा भेटघाट कार्यक्रम छ ।
चार दिनको दिल्ली भ्रमणपछि सांसदहरूलाई मुम्बई लगिनेछ । चारदिने मुम्बई भ्रमणमा राज्यपाल, मुख्यमन्त्री र नेपाली समुदायसँग अन्तरर्क्रिया गराइने कार्यसूची छ । चैत २२ मा मुम्बईबाट सांसदहरू काठमाडौं फर्किनेछन् ।
सचिवालयका प्रवक्ता एकराम गिरीले सांसदहरू विदेश गएको बारेमा औपचारिक जानकारी नरहेको बताए । एमालेका चार सांसदले भने आफूहरू भारत भ्रमणमा रहने भएकाले संसद् बैठकमा अनुपस्थित रहने लिखित जानकारी सभामुख सचिवालयलाई दिएका छन् । दिल्लीस्थित नेपाली दूतावासले पनि सांसदहरूको भ्रमणबारे कतैबाट औपचारिक जानकारी नगराइएको जनाएको छ । ‘सरकारी तहबाट आयोजना नगरिएकैले दूतावासमा जानकारी नआएको हुन सक्छ,’ दूतावासका एक अधिकारीले भने, ‘भारतको विदेश मन्त्रालय वा लोकसभाले औपचारिक निम्तो पठाएर भ्रमण गरिएको भए परराष्ट्र मन्त्रालयबाट दूतावासलाई जानकारी आउँथ्यो ।’
आरजु देउवा पनि दिल्लीमा
कांग्रेस सांसद आरजु देउवा पनि दिल्ली आइपुगेकी छन् । आमा प्रतिभा राणाको उपचारका लागि उनी सोमबार साँझ दिल्ली आइपुगेकी हुन् । उनका साथमा परिवारका अन्य सदस्य पनि छन् । आफ्नो वा परिवारका सदस्यहरूको उपचारका लागि उनी एक वर्षयता पटक पटक दिल्ली आएकी छन् । एजेन्सी