ABC (क्राईमबिट)
काठमाडौं । सर्वोच्च अदालतको मुद्दा महाशाखा प्रमुख विमल पौडेललाई एउटा खबर आयो—तपाईंको कार्यकक्षमा भक्तविक्रम भन्ने मान्छे मिलापत्रको निवेदन लिएर आउँदैछ। उसले त मान्छेलाई मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने रहेछ!
नभन्दै केही बेरमै एक जना वकिल हातमा फाइल बोकेर आए। उनले बैंकिङ कसुरमा मुद्दा खेपिरहेका नारायण शमशेर जबरा थरका व्यक्तिको मिलापत्र सम्बन्धी निवेदन लिएर आएका थिए।
पौडेलले उनलाई सोधे, ‘तपाईंको के नाम हो?’
‘भक्तविक्रम सिंह,’ ती मानिसले जवाफ दिए। अधिवक्ता हो? कति हो लाइसेन्स नम्बर?’ पौडेलले सोधे, ‘खै मलाई अधिवक्ताको लाइसेन्स देखाउनुहोस् त।’
ती मान्छेको अनुहारको रङ नै बदलियो।
हतास भए र भने, ‘मैले ब्याग बाहिर राखेको छु। लिएर आउँछु श्रीमान।’
बाहिर निस्किएका भक्त फर्केर आएनन्।
बेलुकापख बरू पौडेलले अर्को खबर पाए त्यो मान्छे त ठग रहेछ, पक्राउ पर्यो!
बाहिर गएका आफ्ना वकिललाई नारायण शमशेर भने कुरेर बसेका थिए। केही बेरमा उनी आफैं बाहिर निस्किए। तर भक्तलाई देखेनन्। अनि घर आए। घर आएपछि प्रहरीले उनलाई फोन गर्यो र तारिख पर्चाबारे सोध्यो।
उनी प्रहरी कार्यालय पुगेपछि बल्ल थाहा पाए, भक्तविक्रम त ठग रहेछन्।
प्रहरीले भने भक्तविक्रम सिंह भन्ने मान्छेले ठग्ने गरेको सूचना जाहेरीहरू पर्नुभन्दा पहिल्यै पाएको थियो। सूचना पाएपछि भक्तविक्रमबारे निगरानी बढाएको काठमाडौं प्रहरी परिसरका डिएसपी भरतबहादुर शाहले बताए।
भक्तबाट ठगिएको भन्दै सबभन्दा पहिले कपनकी सुजाता नेपालले जाहेरी दिइन्।
उनका बुवा एकराज दाहाललाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले दोषी ठहर गरी बिगोबमोजिम जरिवाना भर्नुपर्ने फैसला गरेको थियो। यो फैसलाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दिन परिवारले वकिल खोजे। विष्णु भन्ने नरबहादुर चिनजानमै थिए। उनले भक्तविक्रम भन्ने राम्रा वकिल छन् भनेर चिनाए।
गत असोज ८ मा भेटेर भक्तले आफैंले पुनरावेदन दर्ता गरिदिने बताए। पुनरावेदन गर्दा धरौटी राख्नुपर्थ्यो। त्यो धरौटी राखेर पुनरावेदन गरिदिने भन्दै दस लाख रूपैयाँ त्यही दिन लिएको सुजाताको जाहेरीमा उल्लेख छ।
मंसिर ८ मा भक्तले फेरि १८ लाख रूपैयाँ मागे। बिगोबमोजिमको जरिवाना तोकिएको फैसला पुनरावेदन गर्दा सर्वोच्चमा जमानत बुझाउनुपर्ने भन्दै उनले उक्त पैसा लगेका थिए। योबीचमा एकराजको परिवारलाई उनले सर्वोच्चमा मुद्दा चलिरहेको र आफूले तारिख धाइरहेको पनि बताएका थिए।
गत माघ ४ मा एक्कासि प्रहरीले एकराजलाई पक्राउ गर्यो। परिवार झसंग भयो। बुझ्दै जाँदा त भक्तले पुनरावेदन दर्ता गरिदिएकै रहेनछन्। एकराज पक्राउ परेपछि आफूहरूले भक्तलाई फोन गरेर के भएको भन्दै सोधेको सुजाताको जाहेरीमा उल्लेख छ।
त्यसपछि पनि भक्तले उनीहरूलाई छोडेनन्। केही दिनमा छुटाउँछु भनेर तीन लाख रूपैयाँ मागे। बुवा पक्राउ परेर आत्तिएको दाहाल परिवारले फेरि रकम दियो।
त्यसपछि भने भक्त उनीहरूको सम्पर्कमा आएनन्। बेपत्ता भए।
वकिल बनेर भक्तले लक्ष्मीकुमारी कार्कीलाई पनि झुक्याएका छन्। लक्ष्मी र देवबहादुर तामाङबीच आठ लाख रूपैयाँको कारोबार भएको थियो। त्यो रकम फिर्ता मागेपछि देवले दुइटा चेक दिएका थिए। बैंकमा जाँदा खाता रित्तै रहेछ। चेक बाउन्स भयो। त्यसपछि लक्ष्मीले पैसा असुल्न मुद्दा हाल्ने विचार गरिन्।
चिनजानका विष्णु भन्ने नरबहादुरसँग कुरा गरिन्। उनले भक्तविक्रम नाम गरेका राम्रा वकिल छन् भनेपछि भेट भयो। भेटेर ती दुवै चेक भक्तले लगे। त्यसपछि उनी कहिल्यै भेट भएनन्। यता लक्ष्मी आफ्नो मुद्दा चलिरहेकोमा ढुक्क भएर बसिन्। धेरैपछि उनलाई थाहा भयो, भक्तले उनलाई झुक्याए।
भक्तले विनोदकुमार रोकालाई ‘डबलक्रस’ नै गरेका छन्। जाहेरीमा उल्लेख भएअनुसार विनोदले निरोज श्रेष्ठ नाम गरेका व्यक्तिलाई २०७६ वैशाख ११ मा ४४ लाख रूपैयाँ दिएका थिए। निरोजले केही दिनमै बाघभैरव बचत तथा ऋण सहकारीको चेक काटिदिए। भुक्तानी गर्न जाँदा खातामा पैसा नभएकाले चेक बाउन्स भयो।
त्यसपछि निरोज सम्पर्कबिहीन भए। अनि विनोदले अदालतमा मुद्दा हाल्न वकिल खोजे। भक्तसँग उनको भेट भयो। आफ्नो समस्या बताएपछि भक्तले चेक अनादारमा मुद्दा हालिदिने भन्दै बाउन्स भएको सक्कल चेक र थप एक लाख रूपैयाँ लिए। केही समयसम्म उनी सम्पर्कमै थिए। पछि हराए।
धेरै समयपछि मात्र विनोदले थाहा पाए, भक्तले त बाउन्स भएको चेक लगेर निरोजलाई बुझाएका रहेछन्।
आफूलाई भक्तले ठगेको कुरा उनले बल्ल थाहा पाए।
त्यस्तै जयराम कार्कीलाई काठमाडौं जिल्ला अदालतले कुनै मुद्दामा ६ महिना कैद र ५ हजार जरिवाना तिराएको थियो। उनी पुनरावेदन गर्न वकिलको खोजीमा थिए। त्यही बेला भक्त भेट भए। उनले पुनरावेदन गरिदिन्छु भन्ने आश्वासन दिए, दुई लाख रूपैयाँ चाहिन्छ भने। जयरामले अनामनगरको रेस्टुरेन्टमा भेटेर २०७६ माघ १६ मा पैसा दिए। जब पुनरावेदन गर्ने म्याद पनि सकियो तब बल्ल उनले ठगिएको थाहा पाए। त्यसपछि अदालत पुगेर कैद र जरिवाना बमोजिमको रकम तिरे।
भक्तले बैंकिङ कसूर र लेनदेनमा मात्र होइन, बलात्कार मुद्दा पनि मिलाइदिने भन्दै ठगी गरेका छन्।
काठमाडौंको बानियाटार बस्ने राजाराम सिरमलका भाइ कृष्ण सिरमललाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले १४ वर्ष जेल सजाय र ५० हजार जरिवाना तिराएको थियो। राजारामले २०७५ माघमा भक्तलाई थापाथलीमा भेटेका रहेछन्। त्यो बेला आफूलाई वरिष्ठ कानुन व्यवसायी हुँ भनेर चिनाएका भक्तलाई राजारामले भाइको फैसलाबारे बताए। उच्च अदालतमा पुनरावेदन दिएर सफाइ दिलाउँछु भन्ने आश्वासन भक्तले दिइहाले। त्यसका लागि पाँच लाख रूपैयाँ चाहिन्छ भने। २०७६ असोजमा उक्त रकम दिएको राजारामको जाहेरीमा उल्लेख छ।सेतोपाटीबाट