
(ABC-Sanchar)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट स्कुटरको ‘ब्रेक सु’को नाममा करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । उनका अनुसार भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास समेत जाँचकीले नै बनाउँछ ।
यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए । समितिले विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्ने बताइएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार विमास्थलको भन्सार जाँच पास भएर निस्केको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुनको यकिन परिणाम भने खुलिसकेको छैन ।
हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको थियो । विभागले अहिलेसम्म उक्त घटनामा संलग्न एक जना एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।