२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सारङ्गीको भरमा चलेको जिन्दगी

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०

(ABC-Sanchar)

कर्मसँग दिक्दारै परियो
रुँदारुँदै पोखरी भरियो

उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए ।

विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि रोजगारीका लागि विदेश गए ।

भारत पुगेर केही वर्ष सुरक्षागार्डको जागिर गरेपछि विष्णुका छोरा कमाउन सक्ने भएपछि विष्णु पुख्र्यौली पेसामै फर्किए । पछिल्लो दुई वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै छन् ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर
खेती किसान केही छैन, सारङ्गीको भर

सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्छन् । ‘गरेर खाने जग्गा जमिन छैन, पेसा व्यवसाय गर्नलाई पुँजी छैन, रोजगार गर्नलाई शिक्षा छैन, सीप छैन’, उनले भने । सारङ्गी रेट्नु, गीत गाउनु उनको रहर मात्रै होइन, बाध्यता हो ।

सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छाडेर गएको पुख्यौँली सम्पत्ति हो । बाउ बाजेले सिकाएको सीपले १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्थे । मङ्सिरमा मुरीका मुरी धान उठ्थ्यो, मौसमअनुसार प्रत्येक घरका इष्टले दुई/चार झोता मकै दिन्थे, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो । तर, आजभोलि पहिलेजस्तो आम्दानी नभएको विष्णुको भनाइ छ ।

एउटा घरबाट एक मुठी चामल र रु २० पनि मुस्किलले मिल्ने गरेको बताउँदै उनले आफूले जस्तो दुःख भावी पुस्ताले गर्न नपरोस् भन्ने कामना गर्छन् । सरकारले आफूजस्तै गन्धर्व र उनीहरुका परिवारको संरक्षणको लागि चासो नदिएको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनका लागि केही पनि नगरेको उनको गुनासो छ ।

‘हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेसा व्यवसाय सङ्कटमा पर्‍यो, अन्य पेसा आउँदैन, रोजगार गर्न शिक्षा दीक्षा छैन भनेर लिखितरुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौं’, विष्णुले भने, ‘हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतिको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।’

विष्णुले सारङ्गी रेट्ने मात्र होइन, सारङ्गी बनाउनु पनि हुन्छ । पाँच दिन लगाएर खिर्राको काठबाट बनाइएको एउटा सारङ्गी २३ हजारमा बिक्री गर्छन् । तर, नयाँ पुस्तामा पेसाप्रतिको घट्दो आकर्षणले सीप भए पनि मारेर बास्नुपरेको उनको दुखेसो छ ।

सरकारले चासो नदिँदा नयाँ पुस्तामा आकर्षण नभएको सोही ठाउँका ६५ वर्षीय भद्रबहादुर गन्धर्वको गुनासो छ । ‘बलेवामा मात्रै २७ घर गन्धर्वका थिए, अहिले घटेर १७ भएका छन्’, भद्रबहादुरले भने, ‘हामी बाचुञ्जेल पेट पाल्नुपर्ने बाध्यताले पेशा छोड्न नसकिने भयो, छोरा नातीले त बरु गिट्टी कुट्छन् यो पेसामा रुचि देखाएनन् ।’

उनले गन्धर्वको जीवन नै सारङ्गी भएको बताउँदै अरु केही गरौँला खाउँला भनेर सोच नबनाए पनि अहिले आएर बाध्यता भएको भद्रबहादुरको भनाइ छ । गन्धर्वलाई स्थानीयले नेता, जनप्रतिनिधिले समेत चासो नदेखाएको उनको गुनासो छ । भद्रबहादुरले पछिल्लो समय सारङ्गी रेट्न छोडिसक्नुभएको तर विष्णुलाई भने साथ दिँदै आएका छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले अहिलेसम्म गन्धर्व समुदाय लक्षित कार्यक्रम र योजना नभएको भए पनि आगामी दिनमा योजना र कार्यक्रम ल्याइने बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]