२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गृहमन्त्री श्रेष्ठलाई प्रदेशका गृहमन्त्रीको प्रश्न : प्रहरी समायोजन किन भएन ???

Logo
प्रकाशित मंगलबार, आश्विन १६, २०८०

(ABC-Sanchar)
काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले अधिकार अभावमा प्रदेश सरकार धान खेतमा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको बताएका छन् । सोमबार हेटौंडामा संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को प्रमुख आतिथ्यतामा आयोजित एक समारोहमा बोल्दै उनले अधिकार प्राप्त गर्न नसक्दा प्रदेश सरकार नाममात्रमा सीमित भएको बताए ।

उनले संघीय सरकारले गरेको प्रतिबद्धता अनुसार प्रहरी समायोजन गर्न संघीय सरकारले किन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठलाई प्रश्न समेत गरे ।

‘गृहमन्त्रीज्यूको उपस्थितिमा मैले यहाँ एउटा कुरा भन्नैपर्ने हुन्छ । यस गठबन्धन सरकारको न्यूनतम साझा नीति, कार्यक्रममा बढीमा ६ महिनाभित्र प्रहरी समायोजन गरिसक्ने प्रतिबद्धता थियो । प्रतिबद्धता गरेको त्यो ६ महिना बित्यो । तर प्रहरी समायोजन भएन,’उनले भने,’निजामती ऐन पनि आजसम्म बन्नसकेको छैन । प्रहरी र कर्मचारी नहुँदा प्रदेश सरकार नाम मात्रको सरकार बनेको छ । अधिकार, स्रोतसाधन र जनशक्तिको अभावमा प्रदेश सरकार दिनानुदिन धान खेतमा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको छ ।’

सोही अवसरलाई प्रयोग गर्दै गणतन्त्र विरोधीहरु सक्रिय भइरहेको मन्त्री श्रेष्ठले बताए । संघीय र प्रदेश सरकारका काम कारबाहीले प्रतिगामीहरुलाई मद्दत पुग्ने गरेको उनले बताए । सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदा पनि प्रहरी समायोजन भएन भने निजामती ऐन बनेन भने संघीयताको भविष्य के होला भन्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रवादीहरू सबै चिन्तित रहेको बताए ।

‘संघ र प्रदेशको उक्त अवस्थाको अवसर पारेर धमिलो पानीमा माछा मार्न दाउ हेरेर बसेका शक्तिहरू खुलमखुला गणतन्त्र मासेर राजतन्त्र पुनःर्स्थापना गर्ने, संघीयता मासेर एकात्मक केन्द्रीकृत राज्य व्यवस्था फर्काउने र धर्मनिरपेक्षताको ठाउँमा पुनः हिन्दु राज्य बनाउने हुंकार गर्दै हिँडिरहेका छन् । हाम्रा कामकारबाहीले जानअनजानमा तिनै प्रतिगामीहरूलाई त मलजल पुगिरहेको छैन ?’ उनले भने ।

संविधानले अनुसूची ५ देखि ९ सम्म व्यवस्था गरेको ३ तहको सरकारको एकल र साझा अधिकारको सूचीमध्ये साझा अधिकारको सूचीअन्तर्गत संघीय सरकारले ऐन बनाउन नसक्दा र बनाएका ऐनहरू कार्यान्वयन नहुँदा कतिपय महत्त्वपूर्ण कामहरू अलपत्र अवस्थामा रहेको मन्त्री श्रेष्ठले बताए । संविधानको मर्म अनुसार आवश्यक ऐन कानुन निर्माणमा संघीय सरकाले काम गर्नुपर्ने उनको धारणा छ । रगतसँग साटिएको लोकतान्त्रिक गणतन्त्रको आवश्यकता र औचित्यलाई व्यवहारिक रूपमा जनजनको मनमनमा प्रमाणित गर्न उनले गृह मन्त्री श्रेष्ठलाई आग्रह गरे ।

सूचना प्रविधिको विकाससँगसँगै बाई प्रोडक्टको रूपमा बढिरहेको साइबर सुरक्षा चुनौती, सामाजिक सञ्जालको व्यवस्थापन र सूचना प्रविधिको प्रवर्द्धन गर्न नयाँ कानुनीको आवश्यकता रहेको उनले बताए । सूचना प्रविधि प्रवर्द्धन विधेयक, साइबर सुरक्षा अपराध नियन्त्रण र नियमन, सामाजिक सञ्जाल नियमन विधेयक निर्माण गर्न प्रारम्भिक गृहकार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरु गरिसकेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]