०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

फोरलेन सडकको दुर्दशा : जनताले दुख पाए, सकिने बेलामा आधा काम

Logo
प्रकाशित शनिबार, आश्विन २७, २०८०

सन्तोष खनाल

दाङ । फोरलेन ठेक्का रद्द भई अलपत्र परेको कुइरेपानी–तुलसीपुर सडक मर्मतको काम पूरा हुने बेलामा झण्डै आधा काम बाँकी छ । २०८० असार १८ गते सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता गरेको सडकको मर्मतमा पनि ढिलाइ हुँदा सडकमा सास्ती कायमै छ ।
२०८० असोज मसान्तसम्म म्याद राखेर ठेक्का लगाइएको मर्मतको काम ठेक्का सम्झौता अनुसार पूरा हुन तीन दिन मात्रै बाँकी छ तर सडक मर्मतको काम नसकिदा जोखिमपूर्ण यात्रा कायमै छ । अहिले पनि घोराही–तुलसीपुर सडक यात्रा सास्तीपूर्ण छ । फोरलेन निर्माणको ठेक्का तोडिएपछि पुरानै सडकलाई मर्मत गर्न सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । लमही–घोराही सडकखण्डको कुइरेपानीदेखि घोराही–तुलसीपुर सडकखण्डको गुर्जेखोलासम्म, घोराही–तुलसीपुर सडकखण्डको गुर्जेखोलादेखि तुलसीपुरसम्म गरी दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको सडकको ठेक्का सम्झौता अनुसार तोकिएको समयमा पूरा नहुँुदा चाडवाडको समयमा झन सास्ती हुने देखिएको छ ।
अहिले दुबै खण्डमा काम भइरहेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश बिकले जानकारी दिनुभयो । उहाँले ६० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । दुबैतिरको ठेक्काको काम समान गतिमा भइरहेको बताउँदै उहाँले रात दिन गरेर काम गरे ठेक्काको समयभित्रै काम सकिने बताउनुभयो । ‘बबई खोलादेखि गोग्लीसम्म पिचको काम भइरहेको छ । बेस सबै ठाउँमा हालिएको छ । अर्कोतर्फ गुर्जेखोलादेखि घोराही बेस हाल्ने काम भइरहेको छ’– उहाँले भन्नुभयो– ‘अर्को ठेक्कामा नारायणपुरतिर काम भइरहेको छ । पश्चिममा बिजौरीतिर पनि काम भइरहेको छ ।’ बेस लगभग बिछ्याएको र पिचको काम बाँकी रहेकोले रात दिन काम गरेमा म्यादभित्रै काम पूरा गर्न सक्ने अवस्था रहेके विकको भनाइ छ । सरकारी पक्षले बेस हाल्ने काम सकिएको भने पनि सडकमा खाल्टाखुल्टी उस्तै छन् । ग्रावेल थुप्रो लगाउने काम केही ठाउँमा भएको छ । सडकका खाल्टाखुल्टीले यात्रा जोखिमपूर्ण छ ।
रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिले घोराही–तुलसीपुर सडकखण्डको गुर्जेखोलादेखि तुलसीपुरसम्म एक करोड १६ लाखमा मर्मतको ठेक्का हात पारेको ठेक्काको काम ठेक्का अवधिमा पूरा हुने देखिएको छैन । निर्माण व्यवसायीले नै दशैं अघि काम सकिने अवस्था नरहेको बताउँछन् । भदौको समयमा पानी पर्नाले काम हुन नसकेको उल्लेख गर्र्दै मौसमकै कारण समयमा काम पूरा गर्न सक्ने अवस्था नरहको गुर्जेखोलादेखि तुलसीपुर साइटको काम गरिरहनुभएका निर्माण व्यवसायी रविन्द्र वली बताउनुहुन्छ । उहाँले घोराहीको अन्तिम प्वाइन्ट गुर्जेखोलाबाट भइरहेको बताउँदै नारायणपुरतिर काम अगाडि बढिरहेको जानकारी दिनुभयो । ‘६० प्रतिशतको सेरोफेरोमा काम पूरा भएको छ । लामो लामो बेसमेन्टको काम भइसक्यो । अब पत्रेखोला र संक्राम खोला मात्रै बाँकी रहन्छ । अनि कालोपत्रे बाँकी रहन्छ’– उहाँले भन्नुभयो– ‘पानी नगरेको भए यो समयमा सकिन्थ्यो । हामीले राम्रोसँग काम गर्न लागेको १० दिन त भएको छ । हात्तीखौवाबाट काम गर्न लागेको हो । पल्लो हेमन्तपुरसम्म पिच गरेका छौं ।’
उहाँले अब काम गर्न बाँकी रहेको नारायणपुरदेखि संक्राम खोलासम्म रहेको बताउँदै उक्त सेक्सनमा पनि बेस झारेकाले बेस राख्न एक साता लाग्ने जानकारी दिनुभयो । उहाँले दशैंयता काम पूरा नहुने बताउनुभयो । ‘सबै काम सक्न हामीलाई कार्तिकको १५ सम्म लाग्छ । हुन त कार्यालयले कार्तिकको ३० भन्दा उता म्याद थप्दैन भनेको छ’– उहाँले भन्नुभयो– ‘हामीले दशैंको पनि एक दिन मात्रै विदा लिएर काम गरी १५÷२० गतेभित्रै सक्ने योजना बनाएका छौं ।’ उहाँले कालाखोलाको ओरालोमा काम नगर्ने कुरा भएकोमा फेरि काम गर्ने कुरा कार्यालयसँग भएपछि बेसको काम गरेको र अरु काम त्यहाँ पनि बाँकी रहेको बताउनुभयो ।
रोल्पा निर्माण सेवा प्रालिले लमही–घोराही सडकखण्डको कुइरेपानीदेखि घोराही–तुलसीपुर सडकखण्डको गुर्जेखोलासम्म एक करोड ४२ लाख रुपैयाँको मर्मतको ठेक्का पारेको सडकको काम पनि समयमै पूरा नहुने देखिएको छ । कुइरेपानी–गुर्जेखोला साइटको काम गरिरहनुभएका निर्माण व्यवसायी कमल कुमाइले बबई खोला पुलनेर पिचको काम भइरहेको जानकारी दिदै आइतबारसम्ममा बबई पुलदेखि कटुवाखोलासम्मको काम सक्ने तयारी भएको जानकारी दिनुभयो । ‘पर्सिसम्म यताको पिच सकेर सर्रातिर काम गर्न लाग्छौं’– शुक्रबार युगबोधसँग कुरा गर्दै कुमाईले भन्नुभयो– ‘उता पनि बेस झरिरहेको छ । ठूलो काम यता यहाँको हो, सर्रातिर खासै ठूलो छैन । यताको काम सके पाँच दिनमा पूरै काम सकिन्छ ।’ उहाँले अहिले ६०÷७० प्रतिशत काम सकिएको जानकारी दिदै आईतबारसम्म ८० प्रतिशत काम पूरा गर्ने बताउनुभयो ।
वर्षातले काममा अवरोध गरेकाले समयमै मर्मतको काम पूरा गर्न नसकेको उहाँले बताउनुभयो । ‘असोज सम्ममा सबै काम पूरा हुँदैन । पानीले ८÷१० दिन काममा असर गरेकोले कालोपत्रेको काम गर्न सकिएन’– उहाँले भन्नुभयो– ‘यो काम छिटो हुने काम हो । हामी कम्मर कसेरै लागेका छौं । दशैं÷तिहार आयो काम गर्ने मान्छे चाड मनाउन जालान् ।’ सर्रा क्षेत्रमा ग्राभेल बिछ्याउने काम भइरहेको बताउँदै उहाँले सेवारखोलामा गिट्टी झरिरहेको र बीचको बिग्रेकोमा खाल्टा पूर्दै कालोपत्रे हालिने जानकारी दिनुभयो । फोरलेन ठेक्कापछि फोरलेन बनाउन चौडा गरिएको सडकको क्षेत्रफल नचलाएर पुरोनै सडक मर्मत गर्नेगरी सडक डिभिजन दाङले ठेक्का सम्झौता गरेको हो । साढे पाँच मिटर चौडाइ मात्रैमा मर्मतको काम गर्ने कार्यालयले जनाएको छ । चारपटक म्याद थपेर पनि काम नगरी भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि सम्पर्कविहीन बनेपछि भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीले ठेक्का तोडेर मर्मतका लागि सडक डिभिजन कार्यालयलाई जिम्मेवारी सारेको थियो । ठेकेदार कम्पनीसँग ०७९ चैत २६ गते ठेक्का तोडिएको र ठेक्का तोडिएपछि बिग्रेको सडक मर्मत गरेर काम चलाउ बनाउन सडक डिभिजनले साढे तीन करोड रुपैयाँ विनियोजन गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!