ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैंको भोलिपल्ट गरिने दुर्गा मुर्ती विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मुर्ती विसर्जनको समयसिमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले दुर्गा भवानीको मुर्ती विसर्जन र्याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मुर्ती विसर्जन कार्य सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो ।
प्रजिअ पोखरेलले विसर्जन र्यालीमा घुसपैठ वा अवान्छित गतिविधि निस्तेज पार्न र र्यालीलाई शान्त र सौहार्दवपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्बिर क्याप्चर गरि अवलोकन गरिने बताउनुभयो ।
उहाँले कानुन विपरितका गतिविधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्बिर-भिडियोको आधारमा समेत प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने हुँदा र्यालीमा सहभागी सवै भक्तजनहरुले निश्चिन्त भइ मर्यादित ढंगबाट मुर्ती विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो ।
सो बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै मुर्ती विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ बजे अघि नै पूजन कार्य समापन गर्न आग्रह गरेको छ । सूचनामा विधिपूर्वक पूजाअर्चना सकेपश्चात स्थानीय प्रहरी ईकाईसँग समन्वय गरी विसर्जनस्थल तर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।
समयसिमाले ट्राफिक व्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने सूचनामा जनाइएको छ । साँझ ५ बजे अघि नै मुर्ती विसर्जन हुने वातावरण निर्माण गरिदिन सबै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरिएको छ । प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको ¥याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा जानकारी गराएको छ । सेराज खान बाँके