२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाघलाई पाल्न पर्सा राष्ट्रिय निकुञ्जलाई समस्या दैनिक एउटा बाघलाई ५ किलो मासु पुग्दैन

Logo
प्रकाशित आइतबार, कार्तिक १२, २०८०

(ABC-Sanchar)
पर्सा । मानव बस्तीमा हिंसक आतङ्क मच्चाउँदै आएका दुई वटा बाघलाई हाल पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएको छ । उक्त निकुञ्जको खोरमा यसअघि नै त्यस्ता तीन वटा बाघ राखिएका थिए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार २०७९ सालको चैतमा पर्साको ठोरी गाउँपालिकाबाट उद्धार गरी ल्याइएको बाघ र २०८० सालको असारमा चितवनमा २३ गते उद्धार गरी ल्याइएका हुन् ।

भदौको तेस्रो साता ठोरी गाउँपालिकाकै सुवर्णपुरबाट नै ल्याइएकी नरभक्षी बघिनीको खोरमै मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

डेढ दर्जन बाघ खोरमा

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेका नरभक्षी बाघहरूमध्ये एउटालाई दैनिक पाँच किलो राँगाको मासु खान दिनुपर्ने निकुञ्जका अधिकारीहरू बताउँछन् ।

एउटा बाघको आहारामा मात्र दैनिक झन्डै छ हजार रुपैयाँ खर्च हुने गरेको र खोरमा राखिएका बाघ स्याहारमा समेत अतिरिक्त कर्मचारी चाहिने भएकाले उक्त काम चुनौतीपूर्ण रहेको भगत बताउँछन् ।

यस्तो परिस्थिति यस निकुञ्जमा बाघको बढ्दो सङ्ख्यासँगै बढिरहेको संरक्षणकर्मीहरू बताउँछन् । बाह्र वर्ष अघिसम्म पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा मात्र बाघ थिए । सार्वजनिक बाघ गणनाको पछिल्लो नतिजाअनुसार निकुञ्जमा ४१ वयस्क बाघ रहेका छन् । हाल नेपालभर १८ वटा बाघ विभिन्न निकुञ्जका खोरमा राखिएका छन् ।

संरक्षणका पछिल्ला प्रयासको कारण बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकारीहरू बताउँछन् । हाल नेपालमा ३ सय ५५ वटा जङ्गली बाघ रहेकोमा तीमध्ये १८ वटा बाघ विभिन्न निकुञ्जका खोरमा राखिएका छन् ।

कति बढे बाघ ?

नेपालमा पछिल्लो चार वर्षमा १२० बाघ थपिएको पाइएको छ । सन् २०१८ मा नेपालमा २३५ बाघ पाइएकामा पछिल्लो गणनामा त्यो ३५५ पुगेको देखिन्छ ।

सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा रहेका छन् । त्यसपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ पाइएका छन् ।

नेपालमा बाघको सङ्ख्या बर्सेनि बढ्दै गएको यी तथ्याङ्कमा देखिन्छ । सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणना अनुसार बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो ।

यही गतिमा बाघको सङ्ख्या वृद्धि भएमा अबका केही वर्षमा यो सङ्ख्या अझै बढेर जाने अनुमान संरक्षण अधिकारीहरूको छ । तर यसरी बाघको सङ्ख्या बढ्दै जाँदा उपलब्ध संरक्षण क्षेत्रका भरमा बाघलाई व्यवस्थापन गर्न सकिन्छ सकिने उच्चतम हद कति हो भन्ने सवाल समेत उठेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा उद्धार गरी ल्याइएका बाघ थपिँदै गए पनि निकुञ्जमा त्यसको स्याहार गर्ने छुट्टै कर्मचारीको भने दरबन्दी नहुँदा समस्या भइरहेको जनाएको छ ।

निकुञ्ज कार्यालयसँग बाघको आहाराको शीर्षककै छुट्टै बजेट नहुने भएकाले वन्यजन्तु उपचार शीर्षकमा रहेको थोरै बजेटबाट जसोतसो धानिएको कार्यालयका कर्मचारीहरू बताउँछन् ।

नियन्त्रणमा लिइएका बाघ प्रायः घाइते वा बिरामी हुने भएकाले उनीहरूलाई लामो समय उपचारको आवश्यकता पर्ने गरेको तथा यसरी बाघ पाल्न गाह्रो भए पनि नियन्त्रणमा लिएपछि त्यसै छाड्न नपाइने उनीहरू बताउँछन् ।

बाघको आक्रमण किन बढिरहेको छ ?

बाघको हकमा उनीहरूको सङ्ख्या बढेसँगै वासस्थान प्रत्यक्ष चाप पर्ने गर्छ । नयाँ वासस्थान र आहाराको खोजीमा समेत बाघ जङ्गल र नजिकका बस्तीमा पुग्ने गरेको उक्त निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत अशोक राम बताउँछन् ।

“सामान्यतया जङ्गलमा एउटा भाले बाघले ५२ र बघिनीले ३५ वर्ग किलोमिटर क्षेत्रफललाई आफ्नो वासस्थानको रूपमा प्रयोग गर्छन्, “उनी भन्छन् । “आफ्नो वासस्थानको क्षेत्रफलमा अरू बाघ/बघिनी आएर स्थायी रूपले बस्न खोजे बाघ बघिनीबिच झगडा पर्छ । पुरानोले आफ्नो क्षेत्र छाड्न चाहँदैन तर लडाइँमा हार्नेले वासस्थान र आहाराका लागि नयाँ ठाउँ खोज्नुपर्छ ।”

यसरी एउटा बाघले आफ्नो क्षेत्रमा तीन वटासम्म बघिनीलाई बस्न दिने तर बघिनीले आफ्नो क्षेत्रमा नयाँ बघिनीलाई प्रवेश गर्न नदिने प्रवृत्ति पनि हुने गरेको राम बताउँछन् । त्यस्तो अवस्थामा तीन बघिनीले सीमित क्षेत्रमा सीमा निर्धारण गर्दै आफ्नो वासस्थान बनाएर त्यसै सेरोफेरोभित्र बस्छन् ।

“बघिनीहरूले रूखमा कोतर्ने, दिसा पिसाब गरेर साङ्केतिक सिमाना निर्धारण गर्ने गर्छन् । त्यो सिमानाभन्दा बाहिर अन्य बघिनीको सिमानामा तिनीहरू प्रवेश समेत गर्दैनन्,” अशोक राम भन्छन्, “सामान्यतया एउटा बघिनीले दुई देखि चार वटासम्म बच्चा पाउने र उनीहरूको गर्भ अवधि ९३ देखि १ सय २ दिनको हुन्छ ।”

बाघको सङ्ख्या बढाउन सफल नेपाललाई अबको चुनौती के ?

बघिनीले डमरुलाई बाघबाट बचाउन आफ्नै परिवारमा समेत सङ्घर्ष गर्ने प्रवृत्ति हुन्छ । बघिनीले डमरुलाई बाघबाट जोगाउन अत्यन्त सावधानी र कुशलतापूर्वक हुर्काउने काम गर्ने संरक्षणविद्हरू बताउँछन् ।

बघिनीले डमरुलाई १८ महिना आफूसँगै राखेर हुर्काउने र वयस्क भएपछि छाडिदिने गर्छन् ।“यसरी बाघले आफ्नो वासस्थान खोज्ने क्रममा जङ्गल नजिकैको मानव बस्तीमा पुग्ने गर्छन्,” राम बताउँछन्, “यसरी मानव बस्तीनजिक पुगेपछि सजिलै मासु खान पाउने भएकाले यस्ता बाघले पटकपटक बस्तीमा पुगेर घरपालुवा जनावर, मानिसहरूलाई आक्रमण गर्ने गरेको र पल्किने गरेका हुन्छन् । यस्ता नरभक्षी बाघलाई बाहिर राख्न सुरक्षित नहुने गरेकोले खोरमा राख्नै पर्ने हुन्छ ।”

निकुञ्ज वरिपरिका बासिन्दा भने बाघको सङ्ख्यामा उल्लेख्य उपलब्धि हासिल गरिरहँदा समेत यस्ता घटनाक्रमबाट त्रसित बनेका पाइन्छन् । यसअघि समेत पटकपटक बाघ आक्रमणका कारण मानवीय क्षतिका घटना घटिरहँदा उनीहरू आतङ्कित बनेको पाइन्छ । त्यस्ता बाघहरूलाई चिडियाखानामा राख्न सकिने विकल्पमा विज्ञहरूको जोड पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित वन्यजन्तुको सिकार गर्न निषेध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]