(एबिसि संचार ) डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार भएको खुलेको छ । माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकका बालिकामाथि पटक–पटक बलात्कार भएको पाइएको हो ।उपचारका क्रममा बालिकामाथि बलात्कार भएको भेटिएपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए । सोही क्रममा अनुसन्धान गर्दा बालिकामाथि पटक–पटक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीले जानकारी दिए ।अनुसन्धान गर्दा बालिकामाथि आफन्तले ६ महिनादेखि पटक–पटक बलात्कार गर्दै आएको खुल्न आएको छ,’ डिएसपी कार्कीले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि उनकै काका पर्ने र स्थानीय युवकले पटक–पटक बलात्कार गर्दै आएको पाइएको छ । प्रहरीले सोधपुछ गर्दा काकाले ६ महिनाअघि बलात्कार गरेको बालिकाले बताएका छन् । स्थानीय युवकले पनि हालसालै बालिका बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।बालिकाले बयान दिएलगत्तै माघ २८ गते नै स्थानीय आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । बालिकाको काका भने रोजगारीको लागि भारत पुगेका पाइएको छ । उनी बलात्कार मुद्दामा बच्नका लागि भारत गएको हुनसक्ने प्रहरीको अनुमान छ । बालिकाको बा–आमा रोजगारीका लागि भारतमा छन् । बालिका हजुरबुबा–आमाको साथमा बस्दै आएका छन् ।(रास्स)