(एबिसि संचार ) आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक जना पुरुष १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको सानो सुर्खेत (साविक लाटीकोइली गाविस–५) का रामबहादुर रावत छन् ।प्रहरीका अनुसार रावतले ०६३ साल असार ९ गते घरमा आफ्नै श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि उनी भागेका थिए ।१७ वर्षपछि उनलाई जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । उनका अनुसार रामबहादुर जुनीचाँदे गाउँपालिका–१, काप्रा भन्ने ठाउँमा घर बनाइ बसेका थिए ।
घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेका थिए । प्रहरीका अनुसार रामबहादुरले ६६ वर्षको उमेरमा २८ वर्षीय महिलासँग विवाह गरेका थिए ।
जुनीचाँदे रामबहादुरको पुर्ख्यौली थलो हो । गौरीको हत्या गर्दा रामबहादुर ५६ वर्षका थिए । प्रहरी निरीक्षक खड्काका अनुसार रामबहादुरले गौरीको हत्या गरी गोठमा शव फालेर भागेका थिए ।