२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

वर्षाका कारण मुग्लिन-पोखरा सडक आखण्डमा साती

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख ३१, २०८१

 

तनहुँ। निर्माणाधीन मुग्लिन-पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको छ। केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन्।

मुग्लिन-पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ। म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन्।

“दुईपांग्रे सवारीसाधनलाई निकै सास्ती हुने गरेको छ। हिलोका कारण चिप्लिएर दुर्घटनासमेत हुने गरेको छ”, म्याग्दे-४ मनहरिका गौरवराज रानाले भने। पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा आवागमनमा निकै सास्ती हुने गरेको भन्दै निर्माणमा ढिलासुस्ती हुँदा नागरिकलाई सास्ती भएको उनको भनाइ छ।

रानाका अनुसार थर्पु बजारबाट अकला मन्दिरसम्मको भागमा काम नहुँदा समस्या भएको छ। अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भए पनि थर्पु बजारबाट अकलासम्मको भागमा कामको गति शून्य रहेको उनको भनाइ छ। उनले भने, “म्याग्देको रिठ्ठेपानीमा सडक नै जलमग्न छ। साना सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको छ।”

मुग्लिन-पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन्। यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्।

सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुइपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ।

यो सडक पूरै कालोपत्र गरिएको छ। धुलो र हिलोको सास्ती रहेकाले आफू यही मार्ग हुँदै पोखरा आवतजावत गर्ने गरेको दमौलीका सुदीप मोहम्मदले बताए। उनले भने, “अहिलेको अवस्थामा पृथ्वीराजमार्ग हुँदै पोखरा जानसक्ने अवस्था छैन। वैकल्पिक सडक प्रयोग गरी पोखरा जाने गरेको छु। बाटो सफा छ, कालोपत्र छ। धुवाँधुलो केही छैन।”

पृथ्वीराजमार्गको अवस्थाका कारण आजभोलि धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्नेक्रम बढेको छ। पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौ जाने गरेका छन्। दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ।

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भए पनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ। पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ५६ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २३ प्रतिशत प्रगति भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार पूर्वी खण्डको म्याद अवधि वैशाख २ गतेदेखि सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ। पूर्वी खण्डको म्याद सकिए पनि कामलाई निरन्तरता दिइएको पाण्डेले बताए।

यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो।

पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ। यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!