ABC (क्राईमबिट)
काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लागेको छ ।
१५ वैशाखबाट पक्राउ सुरु गरेको सीआईबीले अहिलेसम्म ११ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् ।
यसको अघिल्लो दिन बुधबार इलाका प्रशासन कार्यालय सल्यानमा कार्यरत कम्युटर अपरेटर (नासु) गणेश भण्डारी पक्राउ परेका थिए । नक्कली लाइसेन्स बनाउनेमा उनीहरुको भूमिका देखिएपछि पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।
यसअघि २५ वैशाखमा सीआईबीले सूर्यकुमार चौधरी र वसन्त पाण्डेलाई पक्राउ गरेको थियो । चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् ।
प्रहरीले १५ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमा करार इन्जिनियरको रूपमा कार्यरत हरिश भट्टलाई पक्राउ गरेको थियो ।
अर्याल र भट्टलाई पक्राउ सुरु गरेर अनुसन्धान गरिएको थियो । पछि यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको थियो ।