(ABC-Sanchar)
काठमाडौँ । प्रमुख खाद्यान्न बाली भन्नेबित्तिकै पहिलो, दोस्रो र तेस्रो नम्बरमा धान, मकै र गहुँको नाम आउँछ । यी बालीको उत्पादन बढाउन सरकारले पकेट क्षेत्र सञ्चालन गर्दै आएको छ । प्रमुख बालीका रूपमा प्रचलित यी बालीको आयात व्यापार हेर्ने हो भने अवस्था कहालीलाग्दो छ । कृषि प्रधान देश भनेर चिनिए पनि भारतबाट अर्बौं रुपैयाँको धान, मकै, गहुँ आयात भइरहेको छ । निर्यात भने नगन्य रहेको भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको व्यापारअनुसार २३ अर्ब ९० करोडको धान, मकै र गहुँ आयात भएको छ । यसमध्ये १० अर्ब ८६ करोडको धान, १० अर्ब ३१ करोडको मकै र २ अर्ब ७३ करोडको गहुँ आयात भएको छ । यो रकम ०७९/८० को १० महिनाको तुलनामा ७ अर्ब २८ करोडले कमी भए पनि अहिले अर्बौं रुपैयाँको आयात भइरहेकै छ । विभागका अनुसार गत वर्ष यही अवधिमा १६ अर्ब ९५ करोडको धान, १२ अर्ब ५९ करोडको मकै र १ अर्ब ६४ करोडको गहुँ आयात भएको थियो ।
गत वर्षको तुलनामा धानको उत्पादकत्वमा सुधार आएकाले धान बढी फलेको छ । सोही कारण आयात पनि घटेको हो । उन्नत बीउको बढ्दो प्रयोग, सिँचाइमा विस्तारसँगै मलखादको समेत सहजता भएपछि धानको उत्पादकत्व बढेको मन्त्रालयको दाबी छ । जसले गर्दा ०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान फलेकामा ०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन फलेको मन्त्रालयको दाबी छ । तर सहरीकरण र बाँझोपनका कारण धान रोपाइँ हुने क्षेत्रफल घटेको छ ।
तेलहन पनि आयातमै निर्भर रहेको तथ्यांकले देखाउँछ । तेस्रो मुलुकबाट कच्चा पदार्थका रुपमा आयात हुने भटमास, सनफ्लावरको तेलले यहाँको माग धानेको छ । तरकारी र फलफूलको आयात पनि उल्लेख्य छ । आयातमा भने डिजेल–पेट्रोल र ग्यास सधैं अगाडि रहेको तथ्यांकले देखाउँछ । १० महिनाको तथ्यांकअनुसार १ खर्ब १५ अर्ब ६७ करोडको डिजेल आएको छ । ५६ अर्ब ८० करोडको पेट्रोल र ४६ करोडको खाना पकाउने ग्यास आयात भएको छ ।
अत्यावश्यक रूपमा रहेको पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन नहुने भएकाले वार्षिक खर्बौं रुपैयाँको आयात गर्नुपर्ने बाध्यता छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा १ खर्ब २५ अर्ब ३६ करोडको डिजेल, ५५ अर्ब ७९ करोडको पेट्रोल र ४९ अर्ब ७२ करोडको ग्यास आयात भएको विभागको तथ्यांक छ । त्यसपछि ३१ अर्ब ३१ करोडको आइरन तथा स्टिलको आयात भएको छ ।