(ABC-Sanchar)
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले शनिबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त कार्यलाई ‘कानुनी राज्यको उपहास हुने गरी गरिएको बलमिचाइँ’ र ‘अराजक शैली’ भनेको छ।
‘महानगरले शनिबार साँझ करिब ५ बजे मिनभवनस्थित सडक डिभिजन काठमाडौंको गेटमा कार्यालय परिसरसमेत छिर्न अवरोध हुने गरी मिनी टिपरबाट फोहोर फालिएको विषयले गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मतसम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिचाइँ तथा अराजक शैलीबाट भएको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग छ।’
यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् सडक डिभिजन कार्यालयको गेटअगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका थिए। भिडिओ सँगसँगै उनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्ष्य गर्दै स्ट्याटससमेत लेखेका थिए।
बालेनको स्ट्याटस र सडक डिभिजन कार्यालयको विज्ञप्तिमा झगडाको कारण भने फरक फरक उल्लेख गरिएको छ।
बालेनले कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नाममा महानगरवासीले बेहोर्नुपरेको धुलो र धुवाँका कारण फोहोर फालेको उल्लेख गरेका छन्। सडक डिभिजन कार्यालय काठमाडौंले भने न्यूरोडमा महानगरबाट गर्न खोजिएको निर्माणका कारण विवाद उत्पन्न भएको जनाएको छ।