बाँके । चाडपर्वको नाममा उच्छृङ्खलता प्रदर्शन गर्नेलाई बाँके प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले शान्ति सुरक्षाका लागि मोटरसाइकल र स्कुटरमाथि विशेष निगरानी गरेर ट्राफिक नियमको पालना गराइएको बताए । उनले मोहर्रम पर्वलाई लक्षित गरि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत् निगरानी भइरहेको बताए ।
मुस्लिम समुदायको मोहर्रम पर्वको नाममा हेलमेट नलगाएर मोटरसाइकल चलाउने, तीन चार जना बसाल्नेलगायतलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।
उनका अनुसार गत तीन दिनको समयमा राती र दिनमा गरेर बढी सवारी बोक्ने, हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल चलाउने १०६ जनालाई रोकेर १०६ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको बताए । उनले भने, गएराती ४० वटा मात्र मोटरसाइकललाई नियन्त्रणमा लिएका छौँ; होल्ड गरिएका १०६ मध्ये ८८ जनाले ५ सयदेखी हजार रुपैयाँसम्मको जरिवाना तिरेर मोटरसाइकल लगिसकेका छन् ।