नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् ।
नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ दलेको सार्वजनिक भिडियोमा देखिएको छ ।
उनीहरूले आफूहरू नेकपा बहुमतबाट जनकारबाही गर्न आएको भन्दै दुर्व्यवहार गरेका थिए । कालो पदार्थ दलेपश्चात् उनीहरू नेकपा बहुमत जिन्दाबाद भन्दै नारा लगाएका थिए । घटनाबारे थापाले जिल्ला प्रशासनमा जानकारी दिएका थिए ।
यसैबीच घटनापछि नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठनले निकालेको विज्ञप्ति विभिन्न ६ वटा आरोप लगाउँदै कारबाही गरेको जनाइएको छ । देशमा देखिएको भ्रष्टाचारकाविरुद्ध संगठनले देशव्यापी सञ्चालन गरेको जनकारबाही स्वरुप थापामाथि कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ ।
थापामाथि बर्दघाट नगरपालिकास्थित चिसापानीमा स्थानीयले संरक्षण गरेको जग्गा व्यक्तिगत कम्पनीलाई बिक्री गरेको, परिवारका सदस्यहरूलाई राष्ट्रिय आवास कम्पनीको केन्द्रीय कार्यालयमा जागिर खुवाएको आरोप लगाइएको छ ।
संगठनका ५ नम्बर ब्युरो इन्चार्ज मिलन थापाको नाउँबाट जारी गरिएको विज्ञप्तिमा कम्पनीबाट बिक्री भएका जग्गाको अभिलेख नराखी करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको, जग्गा बिक्री गर्दा स्थानीयसँग घुस माग्ने गरेकोजस्ता आरोप लगाइएको छ ।