२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जेनजी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना जेल चलान ९२ जना जमानीमा छुटे

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा रिहा गरेको छ ।

त्यस्तो कसुरमा धरौटीमा रिहा हुने दावा पहिलो व्यक्ति हैनन्, उनीअघि जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अहिले पनि प्रहरी हिरासतमा ४५ र दैनिक हाजिर जमानीमा छुटेका ९२ जनामाथि अनुसन्धान भइरहेको छ । उक्त प्रदर्शनका क्रममा विभिन्न स्थानमा हातहतियार लुटपाट गर्ने र ज्यान मुद्दाबाहेकका आरोपी प्रायः धरौटी, हाजिर जमानीदेखि साधारण तारेखसम्ममा रिहा भएका छन् । हातहतियार सहित पक्राउ परेकामध्ये १८ जनालाई प्रहरीले हाजिर जमानीमा छोडेको छ।

काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा गरी तीन प्रहरीले ज्यान गुमाएका थिए । उनीहरुको हत्यासँग सम्बन्धित १५ जनाका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएकोमा सबै पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुट्ने, लुकाउने र सार्वजनिक रुपमा प्रदर्शन गर्नेमध्ये काठमाडौं प्रहरीले हालसम्म १६ जनालाई नियन्त्रणमा लिएको छ । ती सबै पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

प्रहरी हत्याका क्रममा मतियारीको भूमिका खेल्ने एकजना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । उनी पनि पुर्पक्षका निम्ति कारागारमा छन् । सोही आन्दोलनका क्रममा डाँका चोरीको अभियोगमा पक्राउ परेका दुई जनालाई अहिले पनि जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखेर अनुसन्धान चलिरहेको प्रवक्ता भट्टराईले बताए ।

उक्त आन्दोलनमा विभिन्न किसिमका कसुरका संलग्न व्यक्तिमध्ये जिल्ला अदालतको आदेशले हालसम्म ७४ जना पुर्पक्षका लागि कारागार पठाइएका छन् । त्यसमा आपराधिक उपद्रवका ३७, हातहतियारमा १६, चोरीका ३, कर्तव्य ज्यानमा १५, ज्यान मार्ने उद्योगमा १ छन् । हालसम्म ८५ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको भट्टराईले बताए ।

धरौटीमा रिहा हुनेमध्ये आपराधिक उपद्रव मुद्दामा ५३ जना छन् । चोरीका १२ र अभद्र व्यवहारका गरी धरौटीमा छुट्नेको संख्या ८५ पुगेको हो।
जिल्ला प्रहरीको हिरासतमा अनुसन्धानका निम्ति अहिले ८५ जना राखिएका छन् । त्यसमध्ये आपराधिक उपद्रव मुद्दामा ५३, हातहतियारमा ११, चोरीका २, ज्यान मार्ने उद्योगका १ र डाँका चोरीका २ जना छन् ।

जेन–जी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न स्थानमा विभिन्न कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका मध्ये ९२ जनालाई दैनिक हाजिर जमानीमा प्रहरीले रिहा गरेको छ । उनीहरुको कसुर स्थापित भएमा मुद्दा चल्ने गरी प्रहरी सम्पर्कमा राखेर रिहा गरिएको प्रवक्ता भट्टराईले बताए । त्यसमा आपराधिक उपद्रव मुद्दाका ६७, हातहतियारका १८, चोरीका ४, आपराधिक उपद्रव र चोरीका १, अभद्र व्यवहारका २ जना छन् ।

आपराधिक उपद्रव र हातहतियार मुद्दाका १–१ जनालाई मुद्दा नचल्ने सरकारी वकिलको रायका साथ रिहा गरिएको छ । अभद्र व्यवहारमा एकजनाले अदालतबाट सफाई पाए । आपराधिक उपद्रव मुद्दामा ७ जनालाई अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]