दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ ।
प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ भनिएका शक्तिहरूले मुलुक निर्माण गर्न नसक्ने दाबी गर्दै पुराना राजनीतिक दलहरूले नै देश निर्माणको हैसियत राख्ने घोषणा गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने धारणा व्यक्त गरे ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारुले सुकुम्वासीहरूको मौलिक हक संघीय सरकारले खोसिरहेको आरोप लगाउँदै संघ सरकारप्रति कटाक्ष गरे । साथै थारूले आवासविहीन सबै नागरिकलाई आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै बिना तयारी डोजर चलाइएकोमा भूमि प्रयोगबारे गम्भीर अध्ययन गर्न संघीय सरकारको ध्यानाकर्षण गर्नुभयो ।
लुम्बिनी प्रदेशमा भूमि व्यवस्थापन ऐन छिटो ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले निर्णायक भूमिका खेल्नुपर्ने बताए ।
अर्का प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले इमान्दारी र समावेशितामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य हेमा वेल्वासेले विगतका गल्ती नदोहोर्याई कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने बताए । युवालाई लक्षित डिजिटल अर्थतन्त्रका कार्यक्रम समेट्न सुझाव पनि दिए ।
प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी विकास कोषमा त्यत्तिकै थन्काएर राखिएका बसहरू सञ्चालनमा ल्याउन माग राख्नुका साथै पर्यटकलाई सहज सेवा उपलब्ध गराउन ध्यान दिनुपर्ने बताए । किसानका समस्या समाधान गर्नेगरी बजेट आउनुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले पनि बजेट निर्माण गर्दा वास्तविकता, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताए । पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । आगामी बैठकको मिति सुचना मार्फत सचेतता गराइने सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए ।