दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए ।
सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा पुर्याएको छ,’ उनले भने, ‘हामीले आफ्नै स्रोतमा भवन निर्माण सम्पन्न गरेका छौं ।’
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गरेको भवनमा सबै मन्त्रालय सारिएको जानकारी दिँदै यसलाई अन्य प्रदेशका लागि सिकाई भएको बताए ।
दाङको राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रवाह सुरु गरेका छन् ।