दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल समक्ष ज्ञापनपत्र बुझाएको हो ।
व्यवस्थित रूपमा अभियानलाई अगाडि बढाउन महताराको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको पनि थाहा भएको छ।
समितिले सुकुम्बासी तथा भूमिहिन नागरिकहरूको समस्या समाधानका लागि तत्काल पहल गर्न स्थानीय सरकार समक्ष जोडदार माग गरेको छ। अभियानमा सहभागी पदाधिकारीहरूले दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, भूमि व्यवस्थापन तथा सुरक्षित बसोबासको सुनिश्चितता आवश्यक रहेको दाबी गरेका छन्।
गाउँपालिका अध्यक्ष पोख्रेलले ज्ञापनपत्र बुझ्ने क्रममा उचित व्यवस्थापन नगरी डोजर चलाउन नदिने पालिकाले स्पष्ट नीति लिएको अवगत गराए । सरकारलाई आवश्यक पर्ने जमिन स्थानीय तहले खाली गराउने भए पनि त्यसअघि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गरिने उनलेे ठोकुवा समेत गरेका छन् ।
त्यसका साथै अध्यक्ष पोख्रेलले कुनै पनि नागरिकलाई उठिबास हुने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् । गढवा गाउँपालिका सरकारले भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा दिलाउने गरी निरन्तर प्रक्रियामा अगाडि बढाएको जानकारी गराएका छन् ।
आजका दिनसम्म ९ जनालाई लालपुर्जा वितरण गरिसकिएको उल्लेख गर्दै आउँदा दिनमा अरुथप भूमिहिनलाई लालपुर्जा वितरण कार्यलाई तीव्रता दिन संघ सरकारसँग अनुरोध गरिएको अध्यक्ष पोख्रेलले जानकारी गराए ।
ज्ञापनपत्र बुझाउने क्रममा अभियानका संयोजक महताराले केन्द्र सरकारले सुकुम्बासी बस्तीमा चलाएको डोजरले आफुहरु आतंकित भएको व्यहोरा जाहेर गरे । व्यवस्थापन नगरीकन डोजर चलाउनु भनेको अत्यन्तै अमानवीय, अराजक र मानवअधिकार विरुद्धमा भएको चर्चा गरे । गढवा गाउँपालिकामा त्यस्ता गैरमानवीय कार्य रोक्न गाउँपालिका लाई अनुरोध समेत गरेका छन् ।